एकीकृत समाजवादीले राख्यो तीन मन्त्रालय पाउनुपर्ने अडान
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले तीन वटा मन्त्रालय पाउनुपर्ने अडान राखेको छ।
बुधवार बसेको सो पार्टीको आकस्मिक केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
‘तीन वटा मन्त्रालय हामीले पाउनुपर्छ भनेका छौँ, अहिले तीन वटा मन्त्रालय पाउने निश्चित नभएको र मन्त्रालयको पनि टुङ्गो नलागेकाले हामी प्रधानमन्त्रीको उत्तरको प्रतीक्षामा बसेका छौ’बैठकपछि खतिवडाले भने, ‘जवाफ आएपछि जुनसुकै बेला निर्णय गर्छौ ।’
‘हामीले थुप्रै कुरा त्याग पनि गरेका छौं,’ खतिवडाले भने, ‘राष्ट्रपति चुनावमा कांग्रेसलाई सहयोग गरियो। उपराष्ट्रपति लगायतमा पनि सहयोग गरियो। त्यसैले ३ मन्त्रालयमा हामीलाई सहयोग गर्नुहोस् भनेका छौं।’
यद्यपि नेकपा समाजवादीले डा. बेदुराम भुसाल, प्रकाश जवाला र भानुभक्त जोशीलाई मन्त्री बनाउने यसअघि नै निर्णय गरिसकेको छ ।







