शीतल निवासबाट बिदा भइन् निवर्तमान राष्ट्रपति भण्डारी
लगातार दुई कार्यकाल पूरा गरी निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासबाट बिदा भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेल गाडीसम्मै पुगेर भण्डारीलाई बिदाइ गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ लिएसँगै राष्ट्रपति भण्डारीको बिदाइ गरिएको हो।उनी बुढानीलकण्ठस्थित निजी निवासमा जाने भनिए पनि मर्मतको काम पूरा नभएकाले उनी छोरीको निवासमा गएकी हुन् ।
उनी शीतल निवासबाट निजी निवासमा जाँदै गर्दा नेपाली सेनाको टोलीले टुँडिखेलबाट २१ तोपको सलामी दिएको थियो । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मायाको चिनोको रूपमा आँखीझ्याल दिएका थिए।
भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन् । त्यसपछि पनि उनी दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते निर्वाचित भएकी थिइन् ।
कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की लगायतको उपस्थिति रहेको थियो ।







