गृह मन्त्रालय रास्वपालाई दिएको हो , अदालतको पूर्णपाठ किन चाहियो ?’ : ओली
सत्ता घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सहमति रहेको बताएका छन्।
बिहीबार विराटनगर विमानस्थलमा संवाददातासँग कुरा गर्दै ओलीले गृह मन्त्रालय रास्वपाले पाउने सहमति सत्ता गठबन्धनमा पहिला नै भएको र अहिले पनि त्यो कायम रहेको बताए। ओलीले भने, ‘हामीले गृह मन्त्रालय रास्वपालाई दिएको हो । अदालतको पूर्णपाठ किन चाहियो ?’
आफू र प्रधानमन्त्री प्रचण्डबीच यस विषयमा सहमति रहेको पनि उनले बताए । रास्वपाले गृह मन्त्रालय पाउँदा मन्त्री कसलाई बनाउने भन्ने विषय पनि सोही पार्टीको जिम्मामा रहने उनको भनाइ छ । अध्यक्ष ओलीले सत्ता गठबन्धनमा अहिले कुनै पनि खटपट नभएको दाबी गरे।
‘हाम्रा राजनीतिक एजेन्डा र प्रतिवद्धता छन्। ती एजेन्डा र प्रतिवद्धता पूरा गर्न बाँकी भएकाले गठबन्धन कायम रहन्छ, कुनै समस्या हुन्न,’ ओलीले भने।







