गोंगबुको होटलबाट ७३१ थान राहदानीसहित तीन जना पक्राउ
काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित दुई होटलमा बसेका तीनजनाको साथबाट प्रहरीले सात सय ३१ थान राहदानीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
बुधबार साँझ साढे ६ बजे प्रहरीले काठमाडौं महानगरपालिका-२६ गोंगबु वीरेन्द्र एश्वर्यमार्गमा रहेको होटलबाट राहदानीसहित तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कञ्चनपुर बेदकोट नगरपालिका-३ घर भई टोखा बस्ने ४८ वर्षीय लोकजंग खड्का, सिन्धुली कमलामाई घर भई मित्रनगर बस्ने ४४ वर्षीय शेरनारायण श्रेष्ठ र गुल्मी छत्रकोट गाउँपालिका-९ घर भई मित्रनगर बस्ने ३८ वर्षीय मिनबहादुर सोम्रे छन्।
उक्त होटलमा शङ्कास्पद व्यक्ति छन् भन्ने सूचनाका आधारमा गोंङगबु प्रहरी प्रभागबाट अनुसन्धानका लागि प्रहरी टोली खटाइएको थियो ।उक्त टोलीले होटेल सोनाबाट शङ्कास्पदरुपमा रहेको सात सय १७ थान र होटल पल्लिकोटबाट १४ थान गरी जम्मा सात सय ३१ थान राहदानी बरामद गरेको प्रहरी प्रधान कार्यालयले जानाएको छ ।







