विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन
। विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरण श्रोतकाअनुसार प्रधानमन्त्री कार्यालयबाट एमडीएमएस प्रणाली लागू नगर्न निर्देशन आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पुष १५ गते शुक्रबारदेखि पूर्णरुपमा एमडीएमएस प्रणाली लागू गर्ने योजना बनाएको थियो । नेपालको भन्सार कार्यालयमा दर्ता नभएका मोबाइल चलाउन नपाउने गरी एमडीएमएस प्रणाली लागू हुन लागेपछि यसको व्यापक विरोध भएको थियो ।
विदेशमा मजदुरी गरेर फर्किएकाहरुबाट किनेको मूल्य वा भन्सार विन्दुमा कायम गरिएको मूल्यमा १८ प्रतिशतसम्मको कर लिने गरी भन्सारबाट प्रज्ञापनपत्र लिनैपर्ने व्यवस्था गरेपछि यसको चर्को विरोध भएको थियो । बिरोधलगत्तै सरकार आफ्नो निर्णयबाट पछाडि हटेको हो ।







