नेपाली कांग्रेस संसदीय दलको नेतामा देउवाविरुद्ध गगनले उम्मेदवारी दिने
नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् । डा. शेखर कोइरालासँग सोमबार र मंगलबार दुई दिन भएको छलफलमा गगनले देउवाविरुद्ध उम्मेदवारी दिने सहमति जुटेको हो ।
सोमबारको छलफल टुंगोमा नपुगेपछि आज बिहान पुनः कोइराला र थापा पक्षबीच छलफल भएको थियो ।
संस्थापनइतर समूहबाट नेता कोइराला र थापा संसदीय दल नेताका लागि उम्मेदवार हुन खोजेपछि एक जना मात्रै उम्मेदवार उठाउन केही दिनदेखि संस्थापनइतर समूहको भेला हुँदै आएका थिए। अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि संसदीय दल नेताको उम्मेदवारका लागि गगन थापालाई समर्थन गर्ने घोषणा गरिसकेका छन्।
संस्थापन समूहबाट भने सभापति शेरबहादुर देउवा संसदीय दल नेताका लागि उम्मेदवार हुने पक्का छ। अब संसदीय दल नेताका लागि देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा हुने देखिएको छ।
निर्वाचन समितिले जारी गरेको निर्वाचन कार्यतालिकाअनुसार मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नुपर्ने हुन्छ। मनोनयन दर्ताका लागि कांग्रेसले ५१ हजार शुल्क तोकेको छ।







