तेस्रो पटक अदालतमा उपस्थित भए सन्दीप
प्रहरीले बुधबार सन्दीपलाई जिल्ला अदालत काठमाडौंमा पेस गरेको हो
काठमाडौं–नेपाली राष्ट्रिय क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेलाई तेस्रो पटक अदालतमा पेस गरिएको छ । बुधबार सन्दीपलाई प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेस गरेको हो ।सन्दीपमाथि १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोपमा उजुरी परेको छ। यसअघि सन्दीपलाई २० असोज र २७ असोजमा प्रहरीले अदालतमा पेस गरेको थियो ।
सन्दीपलाई अदालतले पहिलो पटक २० असोजमा सात दिन र दोस्रो पटक थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । गत ५ भदौमा १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई २० असोजमा प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो ।
पछिल्लो पटक १ कात्तिकमा सन्दीपविरुद्धका प्रमाणको फाइल पेस गर्ने वा म्याद थपका लागि पुनः पेस गर्न अनुमति दिइए पनि मंगलबार अदालत बिदा भएकाले सन्दीपलाई बुधबार अदालतमा पेस गरिएको हो ।१७ वर्षीया नाबालिगले गौशाला प्रहरी वृत्तमा सन्दीपविरुद्ध बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि २० असोजमा अमेरिकाबाट नेपाल आएलगत्तै त्रिभुवन विमानस्थलबाटै प्रहरीले पक्राउ गरेको थियो ।
काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले बलात्कार गरेको आरोपमा नाबालिगले २१ भदौमा प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् । सन्दीप त्यतिबेला मुलुकबाहिर थिए ।







