३० दिनभित्रै व्यवसाय दर्ता गराउन काठमाडौं महानगरको चेतावनी
महानगरले संघ र प्रदेश सरकारबाट इजाजत लिएका व्यवसायले महानगरमा व्यवसाय दर्ता नगरी सञ्चालन भइरहेको देखिएकाले दर्ता गर्न ताकेता गरेको हो
काठमाडौं– काठमाडौं महानगरले व्यवसाय दर्ता नगरी सञ्चालन गरिरहेका व्यवसायीलाई ३० दिनभित्र आफ्नो व्यवसाय दर्ता गर्न निर्देशन दिएको छ ।
महानगरले मंगलबार सूचना जारी गर्दै संघ र प्रदेश सरकारबाट इजाजत लिएका व्यवसायले महानगरमा व्यवसाय दर्ता नगरी सञ्चालन भइरहेको देखिएकाले दर्ता गर्न ताकेता गरेको हो ।‘महानगरपालिकाको अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी व्यापार व्यवसाय गरेको पाइए काठमाडौं महानगरपालिका राजस्व ऐन, २०७५ को दफा ३४ को उपदफा (ग) बमोजिम व्यवसाय बन्द गरी नियमानुसार जरिमानासमेत असुल गरिनेछ,’ सूचनामा उल्लेख छ । समयभित्र व्यवसाय दर्ता नगरे कारबाही गर्ने चेतावनी महानगरको छ ।
यस्तै, महानगरले आर्थिक ऐन, २०७९ को अनुसूची–७ को बुँदा– ३ बमोजिम आर्थिक वर्ष २०७२÷७३ लाई आधार वर्षका रुपमा लिएर व्यवसाय कर असुली गरिने जनाएको छ ।पछिल्लो समय महानगरले फुटपाथ व्यापारमा कडाइ गर्दै अनौपचारिक व्यापारमा बन्देज लगाएको छ ।







