सुरु भयो म्यादी प्रहरीको तालिम
१ लाख १५ हजार म्यादी प्रहरीको तालिम आगामी ८ कात्तिकसम्म सञ्चालन हुनेछ।
काठमाडौं– आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सुरक्षाका लागि आवश्यक म्यादी (अस्थायी प्रहरी)को तालिम सुरु भएको छ ।प्रहरी प्रधान कार्यालयका अनुसार १ लाख १५ हजार म्यादी प्रहरीको तालिम आगामी ८ कात्तिकसम्म सञ्चालन हुनेछ । यस पटक म्यादी प्रहरीमा भर्ना हुनेको आकर्षण विगतका निर्वाचनभन्दा बढी देखिएको छ ।
देशभरबाट १ लाख १५ हजार म्यादी प्रहरीको माग गरिएकामा २ लाख ३४ हजार ३६२ जनाले आवेदन दिएका थिए ।भर्ना प्रक्रियाबाट छनोट भएका म्यादी प्रहरीलाई सुरक्षा संवेदनशीलताका आधारमा निर्वाचन स्थलमा परिचालन गर्ने तयारी छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईले सुरक्षाको दृष्टिले अति संवेदनशील निर्वाचन केन्द्रमा ९ जना, संवेदनशील निर्वाचन क्षेत्रमा ६ जना र सामान्य निर्वाचन स्थलमा ५ जना खटाउने तयारी भएको बताए ।उनले म्यादी प्रहरी भर्ना हुन चाहनेको संख्या विगतका निर्वाचनभन्दा बढी हुनु प्रहरीप्रतिको आकर्षणसमेत रहेको दाबी गरे । म्यादी प्रहरीमा भर्ना भएकाले ४० दिन निर्वाचन सुरक्षामा खटिनुपर्नेछ ।त्यसबापत उनीहरूले एकमुष्ट ५१ हजार १६० रुपैयाँ पाउनेछन् । यसैगरी दुर्गम हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई न्यानो कपडाबापत थप १ हजार उपलब्ध गराइनेछ ।
प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचन सुरक्षाका लागि खटिने म्यादी प्रहरीले ड्रेस, जुत्ता, सिट्ठी, लौरो प्रयोग गर्न पाउनेछन् । निर्वाचनका बेला मतदाताको लाइन व्यवस्थापन तथा प्रहरीको सहयोगीका रूपमा परिचालन गरिनेछ ।
म्यादी प्रहरीको भर्ना संयोजन प्रहरी प्रधान कार्यालयको निगरानीमा प्रदेश प्रहरी कार्यालयबाट पूरा भएको छ । तालिम सकिएसँगै आगामी ९ कात्तिकदेखि उनीहरूलाई मतदान स्थलको सुरक्षामा परिचालन गरिनेछ । निर्वाचनको सुरक्षामा खटिएर राम्रो काम गर्नेलाई पुरस्कार तथा गलत गर्नेलाई कारबाहीसमेत हुने प्रहरी प्रधान कार्यालयले बताएको छ । तोकिएको जिम्मेवारी पूरा गर्ने म्यादी प्रहरीलाई प्रशंसापत्रमार्फत सम्मान गरिनेछ ।
त्यसैगरी गलत गर्नेको विवरण राखी सुरक्षा जिम्मेवारीबाट वञ्चित गरिने प्रहरी मुख्यालयले जनाएको छ । निर्वाचन सकिएसँगै आगामी ८ मंसिरमा देशभरका म्यादी प्रहरीको बिदाइ गरिनेछ ।







