निर्वाचन आयोगले तोक्यो उम्मेदवारको खर्च
आयोगले विभिन्न तीन पक्षलाई आधार मानेर प्रत्यक्षतर्फ फरक–फरक निर्वाचन क्षेत्रका लागि फरक–फरक खर्च सीमा तोकेको हो ।
काठमाडौं– निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि उम्मेदवार तथा दलहरूले गर्ने खर्चको सीमा तोकेको छ । आयोगले विभिन्न तीन पक्षलाई आधार मानेर प्रत्यक्षतर्फ फरक–फरक निर्वाचन क्षेत्रका लागि फरक–फरक खर्च सीमा तोकेको हो ।
खर्चे सीमा निर्धारण गर्दा ३१ भदौ २०७९ मा प्रकाशित अन्तिम मतदाता नियमावलीमा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम मतदाताको संख्यालाई ६० प्रतिशत भार, सम्बन्धित निर्वाचन क्षेत्रमा कायम भएको मतदान केन्द्रको संख्यालाई २० प्रतिशत र सम्बन्धित निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रफललाई २० प्रतिशत भार मानिएको आयोगले जनाएको छ ।
उल्लिखित भारका आधारमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौंका निर्वाचन क्षेत्र १, ३, ६, ७ र ८ मा निर्वाचन खर्चको हद २५ लाख कायम हुनेछ । यस्तै, १७ वटा निर्वाचन क्षेत्रमा २७ लाख, ६५ वटा निर्वाचन क्षेत्रमा २९ लाख, ५२ वटा निर्वाचन क्षेत्रमा ३१ लाख र २६ वटा निर्वाचन क्षेत्रमा निर्वाचन खर्चको हद ३३ लाख कायम हुनेछ ।
उल्लिखित भारका आधारमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम हुने प्रदेशसभाको निर्वाचनमा उल्लिखित ७० वटा निर्वाचन क्षेत्रमा निर्वाचन खर्चको हद १५ लाख, १४३ वटा निर्वाचन क्षेत्रमा १७ लाख, ५६ वटा निर्वाचन क्षेत्रमा १९ लाख, २९ वटा निर्वाचन क्षेत्रमा २१ लाख र ३२ वटा निर्वाचन क्षेत्रमा निर्वाचन खर्चको हद २३ लाख कायम गरिएको छ।
निर्वाचनमा सहभागी हुने राजनीतिक दल वा उम्मेदवारले तोकिएबमोजिमको रकम मतदाता नामावली खरिद, सवारी साधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालनलगायतका विषय क्षेत्रमा खर्च गर्न पाउनेछन् ।
मन्त्रिपरिषद्को गत १९ भदौको निर्णयानुसार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा (१) बमोजिम आगामी ४ मंसिर आइतबारका एकै चरणमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा निर्वाचनको मिति तोकिएको छ ।







