प्याराग्लाइडिङ उडानमा लाग्यो प्रतिबन्ध
आइतबार पोखराको सराङकोटमा राष्ट्रिय खेलकुदमा समावेश खेलमा प्याराग्लाइडिङमा परी खेलाडीको मृत्यु भएपछि उडान प्रतिबन्ध
काठमाडौं–सरकारले मुलुकभर प्याराग्लाइडिङ उडानमा अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।
‘अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय भएको छ,’ उनले भने, ‘अब उडान सुरक्षाबारे सूक्ष्म अध्ययन गर्दै छौं ।’आइतबार पोखराको सराङकोटमा राष्ट्रिय खेलकुदका दौरान प्याराग्लाइडिङ दुर्घटना भएको छ । सो क्रममा एक जना खेलाडीको मृत्यु भएको छ । यससँगै प्राधिकरणले देशैभर प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको हो ।
निरौलाका अनुसार अब उडानको सुरक्षा, ऐन नियम र प्रावधानबारे समेत प्राधिकरणले अध्ययन गर्ने भएको छ । सोही कारण तत्कालका लागि सबै उडान बन्द गर्ने निर्णय भएको उनले बताए ।
प्याराग्लाइडिङ विकास र विस्तार हुँदै जाँदा त्यसको सुरक्षासम्बन्धी सवाल पनि पेचिलो बनेको छ । प्याराग्लाइडिङ उडानमा चालक र यात्रुको सुरक्षाबारे पर्याप्त व्यवस्था नहुँदा भएको समस्यालाई ध्यानमा राखेर प्राधिकरणले त्यस्ता व्यवस्था नहुँदासम्म उडान रोकेको हो ।







