निर्वाचन अनुगमनमा जुटे संवैधानिक आयोग
२६ असोजमा बसेको आठ वटै आयोगका अध्यक्षहरूको बैठकले संयुक्त रूपमा निर्वाचन अनुगमन गर्ने निर्णय गरेको हो।
काठमाडौं– आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई मानव अधिकारसम्बन्धी आठ संवैधानिक आयोगले अनुगमन गर्ने भएका छन् ।२६ असोजमा बसेको आठ वटै आयोगका अध्यक्षहरूको बैठकले संयुक्त रूपमा निर्वाचन अनुगमन गर्ने निर्णय गरेको हो ।
आगामी निर्वाचनका लागि दलहरूले गरेको उम्मेदवारी मनोनयन समावेशी लोकतन्त्र, मानव अधिकार र संविधानको मर्म र भावना अनुरूप पूर्ण रूपमा समावेशी र समानुपातिक हुन नसकेको अवस्थाप्रति चिन्ता प्रकट गर्दै आगामी दिनमा यसमा सुधार ल्याउनेतर्फ कदम चाल्न सम्बन्धित सबैलाई आह्वान गरिएको छ ।
निर्वाचनका सन्दर्भमा राजनीतिक दलहरूले तयार गर्ने घोषणापत्रमा मौलिक हकको प्रभावकारी कार्यान्वयन तथा मानव अधिकारको सुनिश्चितताका लागि आफ्ना प्रतिबद्धता समावेश गरी त्यसलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न राजनीतिक दललाई आह्वान गर्ने बैठकले निर्णय गरेको छ ।
बैठकमा राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगका अध्यक्ष सहभागी थिए ।







