मंगलबार बेलुकी उम्मेदवारको नामावली प्रकाशन गर्दै आयोग
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमा २ हजार ५ सय २६ जनाले उम्मेदवारी दर्ता गराए।
काठमाडौं– निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका उम्मेदवारको नामावली मंगलबार प्रकाशित गर्ने भएको छ ।
आयोगका अनुसार मंगलबार साँझ ५ बजेपछि उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।प्रतिनिधिसभातर्फ प्रत्यक्षमा १६५ निर्वाचन क्षेत्रमा कुल २ हजार ५ सय २६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । यीमध्ये पुरुष २ हजार २ सय ९१ र महिला २ सय ३५ जना छन् ।
प्रदेशसभातर्फ प्रत्यक्षमा ३३० क्षेत्रमा गरी कुल ३ हजार ४ सय ७६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । आयोगका अनुसार पुरुष ३ हजार १ सय ७८ र महिला २ सय ९७ जना तथा एक जना अन्यले उम्मेदवारी दर्ता गरेका छन् ।
आयोगले उम्मेदवारले नाम फिर्ता लिन चाहे फिर्ता लिन समय दिने भएको छ । नाम फिर्ता लिन बुधबार समय दिइने आयोगको कार्यतालिका छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन भने २६ असोजमा हुनेछ ।







