देउवाको एकलौटीविरुद्ध पार्टी मुख्यालय सानेपामा शेखर समूहको धर्ना
कांग्रेसबाट समानुपातिकको बन्दसूचीमा अधिकांश संस्थापन पक्षका नेताहरू समेटिएपछि शेखर समूह आन्दोलनमा गएको हो ।
काठमाडौं– आगामी प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सूची एकपक्षीय रुपमा निर्वाचन आयोगमा पेस गरेको भन्दै आन्दोलित नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले बुधबार केन्द्रीय कार्यालय सानेपामा धर्ना दिने भएको छ ।
डा. कोइराला नेतृत्वको उक्त समूहले पार्टी कार्यालय सानेपामा मध्याह्न १२ बजेदेखि धर्ना दिन लागेको हो कांग्रेसबाट समानुपातिकको बन्दसूचीमा अधिकांश संस्थापन पक्षका नेताहरू समेटिएपछि शेखर समूह आन्दोलनमा गएको हो ।
इतर पक्षले संघदेखि प्रदेशसम्मको सूची सच्याउनुपर्ने अडान राखेको छ । इतर समूहका नेताहरूको नाम थोरै मात्रै समावेश गरिएपछि आफूहरूले कम्तीमा ४० प्रतिशत हिस्सा पाउनुपर्ने उनीहरूको अडान छ ।सभापति शेरबहादुर देउवा पक्षले सुरुमा राखिएका इतर समूहका नेताहरूको नाम पनि बन्दसूचीबाट हटाएको बताइएको छ ।
गत सोमबार बसेको शेखर कोइराला नेतृत्वको समूहको बैठकले बुधबार मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा एक घन्टा धर्ना दिने निर्णय गरेको थियो ।
धर्नापछि बिहीबार बत्तीसपुतलीमा कोइरालाको टिममा रहेका पदाधिकारी÷पूर्वपदाधिकारीबीच छलफल हुनेछ ।
कोइराला समूहले टिकट वितरण न्यायोचित हुनुपर्ने माग राखेको छ । समानुपातिक बन्दसूची सार्वजनिक भएपछि इतर समूहले आन्दोलित छ ।







