समानुपातिक सूची नसच्याए निर्वाचनमा असहयोग गर्ने शेखर समूहको चेतावनी
पूर्वसहमतिविपरीत संस्थापन पक्षले आफूनिकट अधिकांश नेताहरुको नाम बन्दसूचीमा राखेपछि शेखर कोइराला पक्षमा असन्तुष्टि देखिएको हो।
काठमाडौं–प्रदेशसभाका लागि निर्वाचन आयोगमा बुझाइएको समानुपातिकको बन्दसूचीका कारण कांग्रेसभित्र चरम असन्तुष्टि देखिएको छ ।
पूर्वसहमतिविपरीत संस्थापन पक्षले आफूनिकट अधिकांश नेताहरुको नाम बन्दसूचीमा राखेपछि शेखर कोइराला पक्षमा असन्तुष्टि देखिएको हो ।
कांग्रेसको १४औं महाधिवेशनपछि देखिएको गुटबन्दीको असर बढ्दै जाँदा समानुपातिक बन्दसूची नसच्चाए चुनावमा असहयोग गरेर जाने कोइरला पक्षले चेतावनी दिएको छ ।कोइराला पक्षका प्रदेश १ का नेताहरुका अनुसार समानुपातिकको सूचीमा कम्तिमा ४० प्रतिशत आफूहरुका नेताहरुको नाम राख्ने सहमति भएको थियो ।

४० प्रतिशतको सहमति भए पनि कम्तीमा ३० प्रतिशत कोइराला पक्षका नेताहरुलाई सूचीमा राखिए स्वीकार गर्ने रणनीति उनीहरुको थियो ।
तर सार्वजनिक भएको सूचीमा २० प्रतिशत पनि नपरेपछि कोइराला पक्षका नेताहरु असन्तुष्ट बनेका छन् ।सार्वजनिक भएको सूचीअनुसार लीलाकुमारी राई, शिला इजम, विदुर बस्नेत, केदार बाँस्कोटा, देवराज तामाङ र चन्द्र लिम्बू मात्रै कोइराला पक्षका हुन् ।
३७ जनाको बन्द सूचीमा अरु देउवा, सिटौला र विजय गच्छदारनिकट नेताहरु परेका छन् ।सिटौला र गच्छदारसमेत देउवा समूहमा रहेकाले कोइराला पक्ष असन्तुष्ट बनेको छ ।असन्तुष्ट नेता तथा कार्यकर्ताहरु सूची सच्याउन दबाब दिने उद्देश्यले उपत्यकाबाहिरबाट काठमाडौं आउने क्रम बढेको छ ।
प्रदेश १ मा महामन्त्री तथा उमेश थापाले बन्दसूचीमा आफूहरुको असहमति रहेको बताए । उनले भने, ’हामीसँग भएको सहमतिअनुसार कार्यान्वयन भएन । सूची सच्चिनेमा आशावादी छौं ।’महामन्त्री थापाले सूची सच्याउने म्याद अझै रहेकाले अहिले नै यसै गरेर जाने अवस्थामा आफू पुगिनसकेको बताए ।







