गणतन्त्रलाई कमजोर बनाउने षडयन्त्र भइरहेको प्रचण्डको दाबी
संविधान उल्टाएर गणतन्त्र असफल पार्ने प्रयास भइरहेको प्रचण्डको भनाइ
काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान उल्ट्याउने प्रयास भएको बताएका छन् ।प्रेस सेन्टर नेपाल चितवन जिल्ला समन्वय समितिले सोमबार भरतपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले संविधान उल्ट्याएर गणतन्त्र कमजोर बनाउन षड्यन्त्र भएको बताएका हुन् ।

‘अहिले पनि एक थरी तत्व यो संविधानलाई कसरी उल्ट्याउने होला ? यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई के गरी कमजोर पार्ने होला, पार्टीहरूलाई के गरी बदनाम गर्ने होला । परिवर्तनमा योगदान गर्ने नेतालाई के गरी बदनाम गर्ने होला भनेर लागेकै छन्,’ उनले भने ।
प्रत्येक क्रान्तिपछि प्रतिक्रान्तिले ठाउँको उठाउने खतरा भइराख्ने भन्दै उनले प्रत्यक ठूला क्रान्ति र परिवर्तन उल्ट्याउने प्रयत्न र षडयन्त्र हुने बताए ।
परिवर्तनको विरोधमा अहिले सामाजिक सञ्जाललाई समेत माध्यम बनाइएको उनको भनाइ छ । सामाजिक सञ्जाल प्रयोग गरेर प्रतिगमनकारीले पनि भ्रमिच सूचना सम्प्रेषण गरेर जनमत सिर्जना गर्ने गर्ने सम्भावना रहेको प्रचण्डले बताए ।







