बिदा हुँदै कामु प्रधानन्यायाधीश कार्की
१७ असोजदेखि ६५ वर्षको उमेरहदका कारण कामु प्रधानन्यायाधीश कार्कीले अवकाश पाउन लागेका हुन्।
काठमाडौं– सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की आइतबारदेखि अनिवार्य अवकाशमा जाँदै छन् ।१७ असोजदेखि ६५ वर्षको उमेरहदका कारण कामु प्रधानन्यायाधीश कार्कीले अवकाश पाउन लागेका हुन् ।
सोमबारदेखि दसैं बिदा सुरु हुने भएकाले आइतबार नै कार्कीलाई औपचारिक बिदाइ गरिन लागेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए ।
कार्कीले अवकाशको एक महिनाअघिदेखि मुद्दा हेरेका छैनन् । उनले अन्य प्रशासनिक काम मात्र गर्दै आएका छन् ।गत १ फागुनमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाअभियोग लगाउने प्रस्ताव संसद्मा दर्ता भएपछि कार्कीले सर्वोच्च अदालतको नेतृत्व सम्हालेका थिए ।
राणा निलम्बनमा परेपछि उनी कामु प्रधानन्यायाधीश भएका हुन् । संविधानमा प्रधानन्यायाधीशले काम गर्न नसकेको अवस्थामा कामुले प्रधानन्यायाधीशले गर्ने सबै काम गर्नुपर्ने व्यवस्था छ ।कार्की २०७३ साउनमा सर्वोच्च अदालतको न्यायाधीश भएका थिए । त्यसअघि उनी २ वर्ष पुनरावेदन अदालतका न्यायाधीश थिए ।
२०३७ मा शाखा अधिकृतबाट न्यायसेवा प्रवेश गरेका कार्की २०३९ मा जिल्ला न्यायाधीश भई २३ वर्षसम्म विभिन्न अदालतमा काम गरे ।
२०६३ मा उनी उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए । उच्च अदालतको न्यायाधीश र मुख्य न्यायाधीश भएर १० वर्ष काम गरेका थिए ।
न्यायाधीश कार्कीपछि न्यायालयको नेतृत्व वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्कीले लिनेछन् । उनी पनि कामु प्रधानन्यायाधीश नै रहनेछन् ।
प्रधानन्यायाधीश राणालाई संसदीय सुनुवाइ समितिले महाअभियोग लगाउन सिफारिस गरे पनि संसद्ले पास गरिसकेको छैन । कार्कीले कामु प्रधानन्यायाधीश भएर २ महिना चलाउनेछन् ।
२७ मंसिरमा राणाको ६५ वर्षे उमेर हद सकिएर अवकाश पाएपछि कार्की सर्वोच्चको प्रधानन्यायाधीश नियुक्त हुनेछन् ।







