सिट बाँडफाँट बैठक बसेको बस्यै
गठबन्धन दलभित्र सिट बाँडफाँटको विषय पेचिलो बन्दै
काठमाडौं– सत्तारुढ पाँच दलभित्र पेचिलो बनिरहेको सिट बाँडफाँट अझै टुंगिएको छैन । बिहीबार पनि सिट बाँडफाँटको सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । राष्ट्रपतिको कदमले बुधबारका लागि बोलाइएको गठबन्धनको बैठकमा सिट भागबन्डा विषय प्रवेशै भएन ।
कार्यदल सदस्यसहित शीर्ष नेता सहभागी हुने बिहीबारको बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने नेताहरुले दाबी गरेका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने गरी बोलाएको कार्यदलका सदस्यसचिव केशव जोशीले बताए ।
गठबन्धनमा प्रतिनिधिसभाका १६५ सिटको भागबन्डामा लामो समयदेखि छलफल भए पनि सहमति जुट्न सकेको छैन । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सिटसमेत भागबन्डा गर्ने तयारीमा रहेका दलहरुबीच प्रतिनिधिसभातर्फका १ सय हाराहारीमा सहमति जुटे पनि बाँकीमा सहमति जुटाउने प्रयास भइरहेको नेताहरुको भनाइ छ ।
शनिबारसम्म सहमति जुटाएर आ–आफ्नो पार्टीमा उम्मेदवार तय गर्न लाग्ने नेताहरुबीच आन्तरिक सहमति भएको छ ।
सत्ता गठबन्धनमा रहेका माओवादी र नेकपा एकीकृत समाजवादीले सिट संख्या चाँडो सहमति जुटाउनुपर्ने भन्दै कांग्रेसलाई दबाब दिँदै आएका छन् । उनीहरुले माओवादीले धेरै सिट लिने अडान नछोड्दा सहमतिमा ढिलाइ भएको बताइरहेका छन् ।







