राष्ट्रपति कदमको समर्थन र विरोध गर्ने दुवै सडकमा
सत्तारुढ गठबन्धन दलका कार्यकर्ता राष्ट्रपतिको कदमको विरोधमा सडकमा आएका छन् भने नेकपा एमालेका कार्यकर्ता समर्थनमा सडकमा उत्रिएका हुन।
काठमाडौं– नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको विरोध र समर्थनमा सडक प्रदर्शन सुरु भएको छ । सत्तारुढ गठबन्धन दलका कार्यकर्ता राष्ट्रपतिको कदमको विरोधमा सडकमा आएका छन् भने नेकपा एमालेका कार्यकर्ता समर्थनमा सडकमा उत्रिएका हुन् ।

राष्ट्रपति भण्डारीको कदमको विरोधमा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको एउटा समूहले काठमाडौंमा प्रदर्शन गरेको छ । त्यस्तै जनता समाजवादी पार्टीको विद्यार्थी र युवा संगठनले वीरगञ्जमा प्रदर्शन र राष्ट्रपतिविरुद्ध नाराबाजी गरेका छन् ।
मधेश प्रदेशको राजधानी जनकपुरमा जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीले छुट्टाछुट्टै विरोध प्रदर्शन गरेका छन् ।
लोसपाको युवा संगठनले पिडारीचोकमा एक घन्टा चक्काजाम गरेको छ भने जसपा र तमलोपाका कार्यकर्ताले राष्ट्रपति भण्डारीको पुत्ला जलाएका छन् ।

राष्ट्रपतिको कदमको विषयमा सत्तारुढ गठबन्धनले विज्ञप्ति जारी गरेर विरोध गरेको छ । एमाले शीर्ष नेताहरु मौन छन् । तर एमालेको भ्रातृ संगठन अनेरास्ववियु र राष्ट्रिय युवा संघका कार्यकर्ताले राष्ट्रपतिको तस्बिर छातीमा टाँसेर काठमाडौंमा प्रदर्शन गरेका छन् ।
युवा संघले बानेश्वर–माइतीघर सडक खण्डमा गरेको प्रदर्शनमा पोलिटब्यूरो सदस्य महेश बस्नेतसहितका नेताहरु सहभागी भएका थिए ।








