कांग्रेसको एकल बहुमत नआउने भए गठबन्धन किन चाहियो ? कोइराला
कांग्रेस केन्द्रीय कार्यसमितिले आउँदो चुनावमा बहुमत ल्याउने निर्णय गरिसकेकाले गठबन्धनसँग सिट बाँडफाँटमा तल पर्न नहुने कोइरालाको अडान
काठमाडौं– कांग्रेस नेता डा. शेखर कोइरालाले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कांग्रेसले बहुमत नल्याउने भए गठबन्धन गरेर जानुको औचित्य नहुने बताएका छन् । गृहजिल्ला मोरङ पुगेका उनले आइतबार आयोजित कार्यक्रमका क्रममा यस्तो बताएका हुन् ।
नेता कोइरालाले पार्टी केन्द्रीय कार्य समितिले नै बहुमतका लागि गठबन्धन गर्ने निर्णय गरिसकेकाले त्यसका लागि १ सय सिट कांग्रेसले उम्मेदवारी दिनुपर्ने अन्यथा गठबन्धन तोड्नुपर्ने बताए ।
पार्टी केन्द्रीय कार्य समिति बैठकले नै गठबन्धनबाट कांग्रेसको एकल बहुमत सुनिश्चित गर्ने भनिसकेको अवस्थामा त्यहीअनुसार सिट बाँडफाँट कोसिस भइरहेको उनको भनाइ छ ।
‘८०÷ ८५ सिटमा उम्मेदवारी दिएर कांग्रेसले बहुमत ल्याउँदैन’, उनले भने, ‘त्यसले उल्टै पार्टीमा विद्रोह हुन्छ ।’
डा. कोइरालाले २०७४ मा कांग्रेस एक्लैले जितेका निर्वाचन क्षेत्र छाड्न गठबन्धनका अन्य
दललाई दिन नसकिने बताए ।







