शीर्ष नेतृत्वबाट टुंग्याइँदै सिट बाँडफाँटको झमेला
पाँचदलीय गठबन्धनले बनाएको सिट बाँडफाँट कार्यदलले अपूरो प्रतिवेदन बुझाएपछि शीर्ष नेतृत्वबाटै मिलाउने तयारी
काठमाडौं– आउँदो ४ मंसिरमा हुने चुनावका लागि सिट बाँडफाँट गर्न बनाइएको सत्ता गठबन्धनको ११ सदस्यीय कार्यदलले अपूरो प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाएको छ । गत २० साउनमा चुनावी तालमेल गर्ने औपचारिक निर्णय गर्दै पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताले सिट बाँडफाँट कार्यदल गठन गरेका थिए ।
कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले सिट बाँडफाँटबारे क्षेत्रगत रूपमा मसिनो गरी छलफल गरे पनि कुन दलले कति सिट लिने भन्ने सहमति गर्न सकेको थिएन । कार्यदल सदस्य एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले अब शीर्ष नेताहरूले नै सिट बाँडफाँटबारे टुंगो लगाउने बताए । उनका अनुसार शुक्रबार अपरान्ह ३ बजे बालुवाटारमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरू छलफल हुनेछ ।
सिटौला नेतृत्वको कार्यदलले अहिलेसम्म सहमति गरेका करिब ९० क्षेत्रबारे शीर्ष नेताहरूलाई बिहीबार जानकारी गराएका थिए । आफूले दाबी गरेभन्दा केही सिट घट्न गठबन्धनका सबै दल तयार भए पनि सिट संख्यामा सहमति हुन सकेको छैन ।
‘कार्यदलले शीर्ष नेताहरूलाई प्रतिवेदन पेश गरियो। प्रतिवेदनबारे बिहीबार पनि छलफल भयो। शुक्रबार पनि यसबारे छलफल जारी रहन्छ,’ कार्कीले भने । गठबन्धनमा रहेका एकीकृत समाजवादी र जसपाले सम्मानजनक सिट पाउनुपर्ने बताइरहेका छन् । जसपाले मधेस प्रदेशमा धेरै सिट लिन चाहेको छ ।







