बलात्कार आरोप लागेपछि सन्दीपले मागे क्यानसँग कानुनी सहयोग
१७ वर्षीया बालिकामाथि करणी गरेको आरोप लागेपछि नेपाली क्रिकेटका कप्तान सन्दीपले क्यानसँग सहयोग मागेका हुन्।
काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले १७ वर्षीया बालिकामाथि करणी गरेको आरोपको कानुनी उपचारका लागि नेपाल क्रिकेट संघ (क्यान) सँग सहयोग मागेका छन् ।
क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लका अनुसार सन्दीपसँग क्यानले सम्पर्क गरेकामा उनले कानुनी उपचारका लागि क्यानबाट सहयोगको अपेक्षा गरेका हुन् ।
हाल सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् । केन्याविरुद्धको टी–२० सिरिजपछि सन्दीप उतैबाट वेस्ट इन्डिज पुगेका थिए ।
सन्दीपले क्यानलाई लिग सकिएपछि नेपाल फर्कने बताएका छन् । उनले कानुनी उपचारका लागि क्यानसँग सहयोग मागेको पनि मल्लले बताए ।
सीपीएल आगामी अक्टोबर १ सम्म हुँदै छ । सन्दीप आबद्ध जमैकाको अन्तिम लिग खेल २५ सेप्टेम्बरमा हुने कार्यतालिका छ ।
यसअघि क्यानले कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिग करणी आरोपमा तत्काल केही छानबिन नगर्ने बताइसकेको छ ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा तत्काल केही नगरिने बुधबार बताएका थिए ।
‘सन्दीपका बारेमा अहिले पुष्टि भइसकेको छैन । यो सुनियोजित पनि हुन सक्छ । यदि सन्दीपले अनुशासन नै तोडेको हो भने कानुनी कारबाही हुनुपर्छ’, क्यान अध्यक्ष चन्दले भने ।
महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौंको बूढानीलकण्ठ बस्ने सन्दीपले बालिकालाई ५ भदौमा काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिन राती काठमाडौंको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप लागेको छ ।







