उम्मेदवार सिफारिसमा मनोमानी शुल्क लिएपछि कांग्रेस मुख्यालयमा उजुरीका चाङ
गैरकानुनी तथा विधान विपरीत जबर्जस्ती उम्मेदवारको नाम सिफारिस गर्दा असुल गरिएकाको रकम फिर्ता गराई पाऊँ भनी दिइयो निवेदन
काठमाडौं– आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरिँदा कांग्रेसका तल्लो तहले केन्द्रको निर्देशन विपरीत मनोमानी शुल्क लिएपछि पार्टी मुख्यालय सानेपामा उजुरीका चाङ परेका छन् ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा केन्द्रको निर्देशन विपरित उम्मेदवारी सिफारिसबापत शुल्क लिएपछि केन्द्रीय कार्यालयमा उजुरी परेको हो ।काठमाडौं महानगरपालिका कार्यसमिति सभापति उम्मेदवार प्रगतिमान रञ्जित, पूर्वक्षेत्रीय सभापति तथा वडा नम्बर १७ का पूर्ववडाध्यक्ष विजय माली र महाधिवेशन प्रतिनिधि मनोज रानाले उम्मेदवारी सिफारिसबापत लिइएको शुल्क फिर्ता गर्नुपर्ने भन्दै केन्द्रीय कार्यालयमा उजुरी दिएका हुन् ।
‘गैरकानुनी तथा विधान विपरीत जबर्जस्ती उम्मेदवारको नाम सिफारिस गर्दा असुल गरिएकाको रकम फिर्ता गराई पाऊँ भनी यो संयुक्त निवेदन गरेका छौं,’ १८ भदौमा दिइएको उजुरीमा उल्लेख छ ।
क्षेत्र नम्बर ७ ले उम्मेदवारी सिफारिसका क्रममा प्रतिनिधिसभा प्रत्यक्षतर्फ ५० हजार, समानुपातिकतर्फ ३५ हजार र प्रदेशसभा प्रत्यक्षतर्फ ३५ हजार र समानुपातिकतर्फ २५ हजार रुपैयाँ शुल्क लिएको थियो ।उजुरी दिएका तीनै जनाले क्षेत्रीय सभापति मुकुन्द रिजालमाथि कारबाहीको माग गरेका छन् ।
कांग्रेसले १३ भदौमा कार्यसमितिलाई परिपत्र गरेर पार्टीका तर्फबाट सिफारिस हुने उम्मेदवारबाट कुनै शुल्क नलिन निर्देशन दिएको थियो।
७ प्रदेश कार्यसमिति, ७७ जिल्ला कार्यसमितिले, १६५ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र ३३० प्रदेशसभा क्षेत्रीय कार्यसमितिलाई गरिएको परिपत्रमा उम्मेदवारको नाम सिफरिस गर्दा कुनै प्रकारको रकम माग नगर्न÷नउठाउन भनिएको छ ।







