एमालेले माग्यो उम्मेदवारको सिफारिसमा परेकालाई तीनपुस्ते विवरण
निर्वाचनमा उम्मेदवार हुन सिफारिस भएकाले निर्वाचन आयोगले तोकेको मापदण्डअनुसार विवरण भर्नुपर्ने एमालेको निर्देशन
काठमाडौं–नेकपा एमालेले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिससँगै आवश्यक विवरण पठाउन निर्देशन दिएको छ ।
एमाले केन्द्रीय कमिटीको चौथो बैठकले २२ भदौसम्म उम्मेदवारको नाम सिफारिस गरी पठाउने निर्णय गरेको थियो ।
उम्मेदवारका रूपमा नाम सिफारिस भएका व्यक्तिको नाम पार्टी केन्द्रीय कार्यालय पठाउँदा निर्वाचन आयोगको अनुसूची १४ र १७ बमोजिमको मञ्जुरीनामामा हस्ताक्षर गर्नुपर्ने भएकाले सम्बन्धित कमिटीले उक्त अनुसूचीका साथै आवश्यक विवरण अनिवार्य संलग्न गरी पठाउन एमालेले आग्रह गरेको छ ।
एमालेले नाम सिफारिससँगै नेपाली नागरिकताको प्रमाणपत्र, सम्पत्ति विवरण फाराम (सिलबन्दी गरी पेस गर्न), मतदाता नामावलीमा नाम भएको विवरण पनि पठाउन भनेको छ । उक्त विवरणमा मतदाता क्रम संख्या, वडा नम्बर, गाउँ÷नगरपालिका, प्रदेश र जिल्ला उल्लेख गर्न भनिएको छ ।
एमालेले प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको नाम सिफारिस गर्ने काम धमाधम भइरहेको बताएको छ ।







