सिट बाँडफाँटको गाँठो फुकाउन बालुवाटारमा हुँदै देउवा–प्रचण्ड छलफल
आगामी ४ मंसिरमा हुने निर्वाचनमा सिट बाँडफाँटमा सबै दल आ–आफ्नो अडानमा रहेपछि प्रचण्ड–देउवाबीच समस्या सुल्झाउन छलफल भएको हो
काठमाडौं– सत्तारुढ पाँचदलीय गठबन्धनभित्र समाधान हुन नसकेको सिट बाँडफाँटको विषय टुंग्याउन प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।
९ बजेदेखि सुरु भएको दुई नेताबीचको छलफल अहिले पनि जारी छ । ‘उहाँहरूबीच छलफल जारी छ। आजै बेलुकीसम्म गठबन्धन बैठक बस्छ,’ माओवादी केन्द्रका एक नेताले भने ।
आइतबार अपरान्ह ३ बजे सिट बाँडफाँटबारे कार्यदलमा शीर्ष नेताहरूसहित छलफल हुने कार्यक्रम छ । उक्त छलफलअघि देउवा र प्रचण्डबीच छलफल भएको हो ।
गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरे पनि घट्ने सम्भावना छ । सत्ता गठबन्धनका पाँचै दलले आफूले गरेको दाबीबाट घटेर सिट बाँडफाँट टुंग्याउने तयारी छ ।
कांग्रेसका एक नेताका अनुसार गठबन्धनमा जसपा र नेकपा एकीकृत समाजवादीले धेरै सिट दाबी गर्दा सिट बाँडफाँटको विषय टुंग्याउन सकस परिरहेको छ ।
कार्यदलमा जसपाले ३५, एकीकृत समाजवादीले ४० सिट दाबी गरेका थिए ।







