संघ र प्रदेशको सिट बाँडफाँटमा समस्या छैन:प्रचण्ड
गठबन्धनमा संघ र प्रदेशको निर्वाचन क्षेत्र तोकेरै सिट बाँडफाँट हुने प्रचण्डको दाबी
सुर्खेत– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा संघ र प्रदेशको निर्वाचन क्षेत्र तोकेरै सिट बाँडफाँट हुने बताएका छन् ।
शुक्रबार सुर्खेत पुगेका प्रचण्डले पत्रकारसँग कुरा गर्दै सिट बाँडफाँटको विषयमा बाहिर चर्चा भएजस्तो गठबन्धनभित्र कुनै असहमति नभएको दाबी गरे । ‘प्रदेश र क्षेत्रसहित एकैपटक टुंगो लगाउने एक खाले सहमति भएको छ । असहमति भन्ने छैन । त्यसलाई प्रभावकारी कसरी बनाउने भन्नेतिर छलफल केन्द्रित छ,’ प्रचण्डले भने ।
बिहीबार अबेरसम्म बसेर गठबन्धनमा संख्या सहमतिको नजिक पु¥याएको र अब एकैपटक प्रदेश र क्षेत्रको पनि टुंग्याउने गरी शुक्रबार दिनभरि छलफल हुने अध्यक्ष प्रचण्डले बताए। ‘आजको छलफल सकिएपछि शनिबारसम्म बसेर क्षेत्र र प्रदेशसमेत सबै कुरालाई समग्रमा टुंग्याउने सहमति गरेका छौं,’ प्रचण्डले भने ।
यस पटक प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा सन्तुलित तालमेल गरिने भन्दै प्रचण्डले कर्णालीमा माओवादी केन्द्रको सरकार बनाउने गरी तयारी भइरहेको सुनाए ।
प्रचण्डले आगामी निर्वाचनमा आफू चितवन–३ बाटै चुनाव लड्ने जानकारी दिए । नेकपा एकीकृत समाजवादीसँग एकताको प्रयास भइरहेकाले निर्वाचनमा एउटै घोषणापत्र आउन सक्ने संकेत गरे ।







