घोषणा गरियो स्वतन्त्र लौरो अभियान
सायमि संयोजक रहेको अभियानले देशैभरबाट स्वतन्त्र रूपमा उम्मेदवारी दिनेछ।
काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ८ बाट आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका सुमन सायमीलगायतले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेका छन् ।सायमि संयोजक रहेको अभियानले देशैभरबाट स्वतन्त्र रूपमा उम्मेदवारी दिनेछ ।

बिहीबार ललितपुरमा कार्यक्रम गरेर उक्त अभियानले एकै चुनाव चिह्न र साझा घोषणापत्रका साथ संयुक्त प्रचार–प्रसार गरिने बताएको छ । कार्यक्रममा विद्या महर्जन, राजाराम तण्डुकार, मधुसूदन पाठक, भीष्म रानालगायत सहभागी थिए ।
विद्याले काठमाडौं–९ बाट उम्मेदवार हुने बताएकी छन् । राजाराम ललितपुर ३, कलाकारसमेत रहेका मधुसूदन काठमाडौं ५ र भीष्म रुपन्देही ५ बाट स्वतन्त्र उम्मेदवार हुनेछन् ।
पार्टीका पुराना नेताको विकल्प दिन स्वतन्त्र अभियान थालिएको उनीहरुको दाबी छ । सायमि काठमाडौं महानगरको मेयरमा गत वैशाखमा स्वतन्त्र उम्मेदवार भई बालेन साहसँग पराजित भएका थिए ।







