महानगरले विशाल बजारलाई दियो २४ घन्टे निर्देशन
काठमाडौंको न्यूरोड क्षेत्रका व्यापारिक भवनमा गाडी पार्किङका लागि बनाइएका अन्डरग्राउन्डमा पसल, व्यापार सञ्चालन भइरहेपछि हटाउँदै महानगर
काठमाडौं–काठमाडौं महानगरले न्युरोडमा रहेको विशाल बजार भवनको नक्सा २४ घन्टाभित्र वडा कार्यालयमा पेस गर्न निर्देशन दिएको छ ।
सोमबार महानगरको टोलीले विशाल बजारको स्थलगत अनुगमन गरी बेसमेन्टभित्र सञ्चालित पसल अनधिकृत रहेको र भवनको नक्सासमेत नरहेको पाइएपछि तत्काल नक्सा लिएर वडा कार्यालयमा आउन निर्देशन दिइएको हो ।
महानगरले न्यूरोडस्थित सुरज आर्केडका बेसमेन्टमा रहेका पसल खाली गर्न २४ घन्टे समय दिएको छ ।सवारी पार्किङका लागि नक्सा पास गरी बनाइएका संरचनामा सटर राखेको पाइएपछि महानगरले खाली गराउन लागेको हो ।पार्किङका लागि नक्सापास भएको सुरज आर्केडको अन्डरग्राउन्डमा सटर राखेर विभिन्न पसल चलाइएको छ ।
महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले यसअघि नै पटक–पटक जानकारी गराइसके पनि सोमबार अन्तिम पटक दिनभरका लागि समय दिइएको बताए ।
महानगरले वसन्तपुर प्लाजाको अन्डरग्राउन्ड पनि खाली गराउँदै छ । यस्तै, महानगरको टोलीले वसन्तपुर प्लाजाको अन्डरग्राउन्डभित्र रहेका पसल पनि हटाउने भएको छ । महानगरले पिनट्स भवनको बेसमेन्टमा रहेका पसल पनि हटाउने भएको छ ।







