ललिता निवास प्रकरणमा ढकाललाई थुनामुक्त गर्न अदालतले दिएन आदेश
फौजदारी कार्यविधि संहिताको दफा ७८ बमोजिम थुनामुक्तको माग लिएर ढकालले पेस गरेको निवेदनलाई अदालतले अस्वीकार गरेको हो
काठमाडौं– विशेष अदालतले बालुटारमा रहेको जग्गा हिनामिनाका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई थुनामुक्त गर्न पुनः अस्वीकार गरेको छ । फौजदारी कार्यविधि संहिताको दफा ७८ बमोजिम थुनामुक्तको माग लिएर ढकालले पेस गरेको निवेदनलाई अदालतले अस्वीकार गरेको हो ।
आइतबार न्यायाधीशद्वय बलभद्र बास्तोला र खुसीप्रसाद थारुको संयुक्त इजलासले ढकालको निवेदन अस्वीकृत भएको फैसला सुनाएको हो । विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले ढकालको निवेदन अस्वीकार भएको बताए ।दफा ७८ मा अभियोग प्रमाणित हुँदा हुने अधिकतम कैदको सजायभन्दा बढी अवधि थुनामा राख्न नमिल्ने व्यवस्था छ । ढकालले उक्त व्यवस्था र आफू ज्येष्ठ नागरिकसमेत भएकाले थुनामुक्त हुन पाऊँ भनी ८ भदौमा निवेदन दिएका थिए ।
थुनाबाहिर रहन ढकालले गरेको यो तेस्रो प्रयास हो। यसअघि विशेषले थुनामा राख्न आदेश दिएपछि ढकाल सर्वोच्च अदालत पुगेका थिए। त्यतिबेला सर्वोच्चमा राय बाझिएको थियो ।
अहिले पुनः ढकालले फौजदारी कार्यविधि संहिताको सुविधाअनुसार निवेदन दिएका थिए। उक्त दफा ७८ मा लगाइएको अभियोग प्रमाणित भए हुन सक्ने अधिकतम कैदको अवधिभन्दा बढी थुनामा राख्न नमिल्ने व्यवस्था छ ।ललिता निवास प्रकरणमा ढकालसहित १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । २२ माघ २०७६ मा मुद्दा दायर भएको थियो। यीमध्ये ६५ जनाविरुद्ध भने जग्गा फिर्ताको हकमा मात्र प्रतिवादी कायम गरिएको छ ।







