३२ वटै वडामा अवैध संरचना भत्काइने महानगरको उद्घोष
काठमाडौं– काठमाडौं महानगरले अवैध रूपमा निर्माण भएका र सार्वजनिक जग्गा मिचेर बनाइएका सबै संरचना भत्काउने काम निरन्तर जारी रहने बताएको छ ।संरचना निर्माणबारे पहिला कागजपत्र देखाउन सम्बन्धित व्यक्तिलाई आग्रह गरिने र कागजातअनुसार गलत प्रमाणित भए थप कानुनी प्रक्रिया अघि बढाइने महानगरले बताएको हो ।
‘अवैध संरचना भत्काउने काम अभियानको रूपमा सञ्चालन गर्ने हो । महानगरका ३२ वटै वडामा अवैध रूपमा निर्माण भएका संरचना बाँकी राख्दैनौं’, महानगरका मेयर बालेन साहको सचिवालय सदस्य सुनील लम्सालले भने ।
नक्सापास नगरी निर्माण भएका र नक्सापासअनुसार निर्माण नगरिएका दुवै संरचना हटाइने उनले बताए । ‘संरचना निर्माणको सम्बन्धमा पहिला कागजपत्र देखाउन सम्बन्धित व्यक्तिलाई आग्रह गर्ने र कागजातअनुरुप गलत प्रमाणित भए थप कानुनी प्रक्रिया अघि बढाउँछौं’, उनले भने ।
महानगरले बुधबार मात्रै सुन्धारास्थित काठमाडौं मल आसपास निर्माण भएका अनधिकृत संरचनामा डोजर लगाएर भत्काएको छ । त्यसैगरी न्यूरोडस्थित आरबी कम्प्लेक्सले बनाएका अनधिकृत संरचना पनि डोजर लगाएर भत्काइएको छ । महानगर प्रमुख बालेनले बुधबार दरबारमार्ग पुगेर अनधिकृत संरचना हटाउन निर्देशन दिइसकेका छन् ।
यसअघि महानगरले जारी गरेको ३५ दिने सार्वजनिक सूचनाको बेवास्ता गरेपछि बुधबारदेखि अवैध संरचना भत्काउने काम सुरु भएको हो । ठूला–ठूला मल बनाउने र पार्किङका लागि निर्धारण गरिएको स्थान महँगो भाडामा लगाइएकाले महानगरले यस किसिमको कदम चालेको बताएको छ ।
सूचना जारी गरेको ३५ दिन बितिसक्दा पनि सम्बन्धित निकाय छलफलमा समेत नआएपछि यस किसिमको काम सुरु गरिएको महानगरका मेयर साहले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।अवैध संरचना भत्काउँदा भाडावालालाई पर्न गएको समस्या र क्षतिको विषयमा घरधनीबाटै क्षतिपूर्ति दिलाउनेतर्फ महानगरले पहल गर्ने प्रतिबद्धता मेयर साहले जनाएका छन्।
बिहीबार पनि अवैध संरचना भत्काउने कार्यलाई महानगरले निरन्तरता दिएको छ । मेयर बालेन बानेश्वरको बुद्धनगर पुगेपछि व्यवसायीसँग नोकझोक भएको छ।बुद्धनगरमा रहेको अल्फाबिटाले बेसमेन्टमा व्यवसाय सञ्चालन गरेर पार्किङ बाहिर राखेको देखिएपछि मेयर बालेनले त्यसलाई तत्काल हटाउन आग्रह गरेका थिए ।
तर अल्फाबिटा ग्रुपका अध्यक्ष एवं व्यवसायी द्वीराज शर्माले बेसमेन्ट कायम राखेको र बाहिर पार्किङको व्यवस्था गरेको बताएपछि मेयर बालेन र शर्माबीच वादविवाद भएको थियो ।महानगरले बिहीबार नयाँ बानेश्वर–शंखमूल क्षेत्रमा अनधिकृत संरचना हटाउन सुरु गरेको छ ।







