शिक्षक, कर्मचारीलाई दलीय आबद्धता त्याग्न मेयर बालेनको निर्देशन
काठमाडौं– काठमाडौं महानगरका मेयर बालेन्द्र साहले महानगरअन्तर्गतका सार्वजनिक तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धता त्याग्न निर्देशन दिएका छन् ।दलीय आबद्धतासँग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता नदिन वा सदस्यता लिएको भए रद्द गर्न सम्बन्धित राजनीतिक दल, भ्रातृ संस्था वा शुभेच्छुक संस्थालाई पनि उनले आग्रह छन् ।
मेयर साहले भनेका छन्, ‘राजनीतिक आबद्धता कायम राखेको भए काठमाडौं महानगरपालिकाअन्तर्गतको शिक्षक तथा कर्मचारीले त्यस्तो आबद्धता तत्काल त्याग गरी कानुनको परिपालना गर्न यसै विज्ञप्तिमार्फत सूचित गरिन्छ ।’
उनले दलसँगको आबद्धता नत्यागे सार्वजनिक रूपमा उजुरी आह्वान गरी वा अन्य उपाय बमोजिम प्राप्त सूचनाको आधारमा कानुनी कारबाही अगाडि बढाउने नीति अख्तियार गरिने चेतावनी दिएका छन् ।महानगरका कुनै पनि कर्मचारीले राजनीतिक दल वा संगठनको सदस्यता लिन, राजनीतिक क्रियाकलापमा संलग्न हुन वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिन नपाइने व्यवस्था रहेकाले त्यसको कार्यान्वयनमा प्रतिबद्ध रहेको उनले बताएका छन् ।
’काठमाडौं महानगरपालिका कर्मचारी सेवा ऐन, २०७७ को दफा ४५ ले कुनै पनि सरकारी कर्मचारी राजनीतिक दलमा आबद्ध हुन नपाउने व्यवस्था गरेको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (ग) ले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई कुनै पनि राजनीतिक दलले सदस्यता दिन नहुने व्यवस्था गरेको छ,’ उनले भने ।
कानुन कार्यान्वयन गर्न अजित भण्डारीविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत भएको मुद्दामा उच्च अदालत पाटनले परमादेश जारी गरेको थियो । उक्त कानुनी व्यवस्था तथा उच्च अदालत पाटनको आदेशको परिपालना गर्नूु÷गराउनू महानगरका साथै प्रत्येक राजनीतिक दल, भ्रातृ संस्था वा शुभेच्छुक संस्था तथा महानगरअन्तर्गतका शिक्षक तथा कर्मचारीको पनि दायित्व रहेको विज्ञप्तिमा उल्लेख छ ।







