राजनीतिक दलले आयव्यय विवरण नबुझाए निर्वाचनमा सहभागी हुन नपाउने
काठमाडौं– निर्वाचन आयोगले वार्षिक आयव्यय विवरण नबुझाउने राजनीतिक दललाई आगामी संघीय र प्रदेशसभा निर्वाचनमा सहभागी हुन नदिइने बताएको छ ।आयोगमा ११६ राजनीतिक दल दर्ता छन् । तीमध्ये आगामी ४ मंसिरमा हुने संघ र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि ८४ राजनीतिक दल मात्रै दर्ता भएका छन् ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले वार्षिक आयव्यय विवरण नबुझाउने राजनीतिक दललाई निर्वाचनमा सहभागी नगराइने बताए । दल दर्ताका लागि आवश्यक कागजातमध्ये राजनीतिक दलको वार्षिक आयव्यय विवरणको अडिट रिपोर्ट पनि अनिवार्य बुझाउनुपर्ने उनको भनाइ छ ।
आयोगमा दर्ता भएका दलले बुझाएको कागजातको अध्ययन भइरहेको र अध्ययन सकेर केही दिनमै निर्वाचनमा भाग लिन पाउने राजनीतिक दलको सूची सार्वजनिक गरिने उनले बताए ।अर्यालले दलहरुले आयव्यय विवरण नबुझाएको पाइए पुनः माग गर्ने र माग गर्दा पनि नबुझाएको अवस्थामा निर्वाचनमा भाग लिन नदिइने जानकारी दिए ।







