काठमाडौंको फोहोर एक–दुई दिनमै उठ्ने
काठमाडौं– काठमाडौं महानगरले काठमाडौं उपत्यकाका सडक छेउछाउमा थुपारेर राखिएको फोहर धमाधम उठाउन थालेको छ । उपत्यकाको फोहोर ढुवानीमा निजी क्षेत्रका ३० बढी ट्रक र टिपर प्रयोग भइरहेको महानगरले बताएको छ ।
यस्तै, महानगरसँग बन्चरेडाँडामा फोहोर ढुवानी गर्ने १३ कन्टेनर छन् । महानगरका प्रवक्ता नवीन मानन्धरले निजी क्षेत्रको सहयोगले उपत्यकाको फोहोर व्यवस्थापनमा निकै सहज भएको बताए ।महानगरसँग फोहोर फाल्ने पर्याप्त कन्टेनर नभएको अवस्थामा निजी क्षेत्रबाट ट्रक तथा टिपरको सहयोग मिलेकाले फोहोर व्यवस्थापन छिटो हुने प्रवक्ता मानन्धरको भनाइ छ ।
उनका अनुसार उपत्यकाका सडकमा थुप्रिएका फोहोर उठाउन महानगरले नेपाल रेडक्रस सोसाइटी काठमाडौं शाखासँग सहकार्य गरेको छ ।
अहिले काठमाडौंको कमलादीमा क्षेत्रका सडकमा थुपारेर राखेका फोहर हटाइँदै छ। सोमाबार नै कमलपोखरी क्षेत्रका फोहर पनि संकलन गरिनेछ ।
मंगलबार छुटेका ठाउँको अनुगमन गरी फोहोर उठाइनेछ । महानगरपालिकाले अहिले कुहिने र नकुहिने फोहोरलाई सडकबाट नछुट्याई उठाएको छ ।पछिल्लो तीन दिनयता सिसडोलका स्थानीयले अवरोध पनि गरेका छैनन् । उनीहरूले आफ्ना माग पूरा गर्न पाँच दिनअघि एक साताको समय दिएका थिए । यद्यपि, महानगरले सात दिनमा माग पूरा नगरे फोहोर व्यवस्थापनमा पुनः अवरोध गरिने स्थानीयले बताएका छन् ।
काठमाडौंको दरबारमार्ग, कमलादी, पुतलीसडक, मैतीदेवी, गौशालालगायत क्षेत्रका फोहोर आइतबार उठाइएको छ । यी स्थानबाट २५० वटा गाडी फोहोर बन्चरेडाँडा पु¥याइएको छ ।







