उम्मेदवार टुंगो लगाउँदै नेकपा एकीकृत समाजवादी
काठमाडौं– नेकपा एकीकृत समाजवादीले आउँदो संघीय चुनावका लागि २० भदौभित्र उम्मेदवार टुंगो लगाउने भएको छ ।
‘२० भदौभित्र उम्मेदवारको टुंगो लगाउनेछौं। त्यसका निम्ति सचिवालयले उम्मेदवार छनोट मापदण्ड पनि बनाएको छ,’ नेकपा एसका उपमहासचिव जगन्नाथ खतिवडाले भने ।
४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवार छनोटका लागि नेकपा एसले ८ वटा मापदण्ड तोकेको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभामा उम्मेदवार बन्न सम्बन्धित व्यक्ति पार्टीको कार्यदिशा नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको हुनुपर्ने उल्लेख छ । यस्तै, विद्रोहमा सक्रिय भूमिका निर्वाह गरेको र पार्टी निर्माणमा योगदान गर्नेलाई समाजवादीले प्राथमिकता दिने भएको छ ।
उम्मेदवार बन्न पार्टी र क्रान्तिप्रितको निष्ठा र अनुशासनमा दृढ रहेको हुनुपर्नेछ। आर्थिक एवं नैतिक आचरण राम्रो रहेको हुनुपर्नेछ । पार्टीले पार्टीले सिफारिस गर्ने उम्मेदवार जनतामा स्थापित एवं लोकप्रिय हुनुपर्ने मापदण्ड तोकेको छ । चुनाव लड्न स्वच्छ छवि र सुशासनको पक्षपाती हुनुपर्नेछ ।नेकपा एसले उम्मेदवारको कार्यक्षमताको पनि मूल्यांकन गरिने बताएको छ । उम्मेदवार छनोट गर्दा समावेशी समानुपातिक आधारमा गरिने पार्टीको निर्णय छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले १० भदौभित्र जिल्ला कमिटीमा उम्मेदवार सिफारिस गर्नुपर्नेछ । जिल्ला कमिटीमा प्राप्त सिफारिसका आधारमा प्रदेश कमिटीमा १२ भदौभित्र सूची पठाउन पार्टीले निर्देशन दिएको छ ।प्रदेश कमिटीले १५ भदौभित्र केन्द्रमा सिफारिस पठाउनुपर्नेछ भने केन्द्रीय कमिटीले २० भदौमा उम्मेदवारको टुंगो लगाउने नेकपा एसको सचिवालयले निर्णय गरेको छ ।







