हर्क साम्पाङले सार्वजनिक गरे सय दिने फेहरिस्त
काठमाडौं– धरान उप–महानगरका मेयर हर्क साम्पाङले १०० दिनभित्र भए÷गरेका कामको सूची सार्वजनिक गरेका छन् । साम्पाङले १३ बुँदासहितको प्रगति विवरण सार्वजनिक गरेका हुन् ।
आफ्नो आधिकारिक फेसबुक एकाउन्टमार्फत उनले सार्वजनिक गरेको कार्य विवरणमा चार ठाउँमा खानेपानीको मुहान थपेको, व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएको र ६ लाख बिरुवा रोपेको भनिएको छ ।
सफाइमा देखिने सुधार ल्याएको, जलविद्युत्को सफल परीक्षण गरी बगरमा बत्ती बालेको, लागूऔषधविरुद्धको अभियान सुरु गरेको उनको विवरणमा उल्लेख छ ।
साम्पाङले व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएको, प्रशासनिक र उपमहानगरको शान्ति–सुरक्षामा सुधार ल्याएको, बाटो मर्मत सम्भार तथा तटबन्ध, विपद् व्यवस्थापन गरेको कार्यविवरणमा उल्लेख गरेका छन् ।
यस्तै, योजनाका लागि बजेटको जोहो गरेको, पारदर्शी हिसाबकिताब सार्वजनिक गरेको, पालिकाको सेवामा तीव्रता र प्रस्टता ल्याएको, शिक्षा, स्वास्थ्य संस्थामा सुधार ल्याएको आदि सय दिने विवरण समावेश गरेका छन् ।







