राष्ट्रपतिबाट अस्वीकृत नागरिकता विधेयक हुबहु शीतलनिवास पठाइयो
काठमाडौं–सत्तारुढ गठबन्धनको बालुवाटार बैठकले यसअघि प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई पठाइएको नागरिकता विधेयक फेरबदलबिनै शीतलनिवास पठाउने निर्णय गरेको छ ।
राष्ट्रपति भण्डारीले २९ साउनमा फिर्ता गरेको नागरिकता विधेयक मंगलबारको संसद् बैठकमा पेस भइसकेको छ ।संसदमा छलफलका लागि पेस भएको उक्त विधेयकलाई बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले हुबहु राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको हो ।
‘बैठकले नागरिकता विधेयक जस्ताको तस्तै राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको छ’, बैठकमा सहभागी एक नेताले भने, ‘शान्ति प्रक्रियासम्बन्धी दुई विधेयक भने परिमार्जन गरेर मात्रै अघि बढाउने निर्णय भएको छ ।’
दोस्रो पटक शीतलनिवास पठाइएको विधेयक राष्ट्रपतिले संसद्मा फिर्ता गर्न नपाइने कानुनी व्यवस्था छ ।संविधानमा राष्ट्रपतिले एक पटक मात्रै विधेयक संसद्मा फिर्ता पठाउन सक्ने व्यवस्था छ ।







