एमाले हारेको ‘दोष’ लागेपछि करिश्मा आक्रोशित
अभिनेत्री करिश्मा मानन्धर एमालेमा आबद्ध भएपछि पार्टी पत्तासाफ भएको भन्दै समाचार र ट्रोल आएपछि उनी आक्रोशित पनि भएकी छन् ।अभिनेत्री मानन्धरले आफूलाई गाली गर्नेहरुको विरुद्ध कानुनी बाटो रोज्ने चेतावनी दिएकी छन् ।

जीवनमा कसैको नराम्रो नचिताएको, कसैको नराम्रो नगरेको र आफूसँग भएको र सकेको बाँडेको बताएकी उनले बिना कारण मानसिक पीडा दिने शब्द प्रयोग गर्ने अधिकार कसैलाई नभएको बताइन् ।
‘यत्रोवर्ष चलचित्रमा क्षेत्रमा काम गरेर देश र जनतालाई अभिनय पस्किएँ । कुनै चलचित्र चले कुनै चलेनन् । तर तल्लोस्तरको टिप्पणी कहिल्यै भोग्नु परेन’ उनले भनिन् ‘ राजनीतिमा कुनै गलत अभिप्रायले पाइला राखेको होइन । जीवनभर पुग्ने सबै छ मसँग ।’ आफू राजनीतिमा सबैको आवाज बन्न केही गर्न आएको बताउँदै उनले ‘के आधारमा यो गाली गर्दै हुनुहुन्छ तपाईंहरु मलाई ?’ भन्दै प्रश्न समेत गरेकी छन् ।
‘हो एक दुई पटकसम्म सहनु ठिक छ । तर बारम्बार गर्दा अति हुन्छ’ उनले अगाडि थपेकी छन्, ‘बिहान उठेर फोन हेर्नासाथ यहाँहरुको जे पायो त्यही भनाइ हेर्नुपर्ने ?’ उनले राम्रो सोच्न, राम्रो बोल्न सबैलाई सुझाएकी छन् ।








