नेपालमा नियमित रुपमा रेल सेवा सुरु
धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म आजबाट नियमित रुपमा रेल सेवा सुरु भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीबाट संयुक्त रुपमा ‘फ्लाग अफ’ गरी उद्घाटन गरेपछि सो रेल सेवा नियमित रुपमा सुरु भएको हो ।
नेपालमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतबाट रु ८४ करोड ६५ लाखको लागतमा दुई सेट रेल खरिद गरिएको थियो । खरिद गरिएको डेढवर्षपछि रेल सेवा सञ्चालन भएको हो । पहिले पुरानो प्रविधिको रेल सञ्चालनमा आएपनि आधुनिक प्रविधिको यो नै पहिलो रेल सेवा रहेको बताइएको छ ।
उद्घाटनको बेला जयनगर रेल्वे स्टेशनमा नेपाल र भारतका विद्यार्थीले दुवै देशको झण्डासहित उभिएका थिए । नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाका अनुसार प्रधानमन्त्रीद्वयले झण्डा हल्लाएपछि जयनगरबाट जनकपुरका लागि रेल गुडेको थियो । केही घण्टापछि रेल जनकपुर आइपुगेको थियो ।







