नेकपामा मारमुंग्री : प्रचण्ड–नेपाल समूहद्वारा प्रदेश १ का मुख्यमन्त्रीसहित आठ जनालाई सांसदबाटै निलम्बन
नेकपाको पुष्पकमल दाहाल–माधव नेपाल समूहको प्रदेश १ को संसदीय दलले मुख्यमन्त्री शेरधन राईसहितका आठ जनालाई सांसद पदबाट निलम्बन गरेको घोषणा गरेको छ । निलम्बन कार्यान्वयन गर्न प्रचण्ड–नेपाल समूहको नेकपाले प्रदेशसभामा सिफारिस गरेको छ ।
यस्तो बेहोराको पत्र प्रदेशसभामा दर्ता भएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
प्रचण्ड–नेपाल नेकपाको संसदीय दलका नेता भीम आचार्यले मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, भूमि, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङ, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, न्याय प्रशासन तथा विधायन समिति सभापति इन्द्रमणि पराजुली, अम्बिका थापा, विमल कार्कीलाई सांसद पदबाट तीन महिनाका लागि निलम्बन गरिएको बताए ।
दलको कुनै बैठकमा सहभागी नभएको, पार्टी हित विपरीत काम गरेको अभियोग लगाउँदै उनीहरूलाई कारबाही गरिएको प्रदेशसभामा दर्ता भएको पत्रमा उल्लेख छ ।
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड–नेपाल समूहले अविश्वास प्रस्ताव दर्ता गरेको थियो ।
उक्त अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने १६ जनालाई मुख्यमन्त्री राईले निलम्बनको घोषणा गरेका थिए । सोमबार मुख्यमन्त्रीसहितका नेताहरुलाई सांसदबाटै निलम्बन सिफारिस गरेको हो ।







