नेकपामा चिरा : प्रचण्ड–नेपाल समूहका सांसदले गरे प्रधानमन्त्रीको सम्बोधन वहिष्कार
प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सभामा गरेको सम्बोधन प्रचण्ड–नेपाल समूहको नेकपा सांसदहरुले वहिष्कार गरेका छन् । राष्ट्रिय सभाको आइतबारको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए ।
प्रधानमन्त्री ओली संसद् भवन पुगेपछि प्रचण्ड–नेपाल निकटका सांसदहरु बाहिरिएका थिए । प्रधानमन्त्रीको सम्बोधनलाई आफूहरुले वहिष्कार गरेको प्रचण्ड–नेपाल निकटका सांसद वेदुरामा भुसालले बताए ।
‘प्रधानमन्त्रीको भाषणको कुनै अर्थ छैन भनेर हामी हाजिर गरेर निस्कियौँ’, उनले भने, ‘प्रधानमन्त्रीको गाली वाणीबाहेक सम्बोधनमा केही आउने होइन । त्यसैले सुनेर अर्थ पनि थिएन ।’
१० दिनमा चार दिन बसेको राष्ट्रिय सभा बैठकले ७ घन्टा समय लिएको छ । प्रधानमन्त्रीलाई लोकतन्त्रप्रति विश्वास नभएकाले छोटो समयमै राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरिएको उनले बताए ।
‘संसद सुचारु भएपछि सांसदहरुले प्रश्न उठाउने भए । सांसदहरुलाई बोल्न नदिने उहाँको योजना हो’ उनले भने, ‘उहाँले लोकतन्त्रमाथि योजनाबद्ध आक्रमण गरिरहनुभएको छ ।’
प्रधानमन्त्री ओलीले भने राष्ट्रिय सभाको अधिवशेन अन्त्य गरिएको बारे कुनै जवाफ दिएनन् । बैठकपछि बाहिरिँदा प्रधानमन्त्रीसँग पत्रकारले सोधेको प्रश्नको जवाफ नदिईकन उनले हात हल्लाएर हिँडे ।
राष्ट्रिय सभाका सांसद वामदेव गौतमले प्रतिनिधिसभा विघटन भएको अवस्थामा राष्ट्रिय सभा अधिवेशन लम्ब्याइराख्न जरुरी नभएको बताएका थिए ।
नेकपामा आएको विभाजनसँगै राष्ट्रिय सभामा ओली सरकारले बहुमत गुमाएको छ । ५९ सदस्यीय राष्ट्रिय सभामा नेकपाका ५० जना सांसद छन् । जसमध्ये २४ जना प्रचण्ड–नेपाल पक्षमा छन् भने सांसद वामदेव गौतम खुलेका छैनन् ।
कांग्रेस सांसद रमेशजंग रायमाझीले बहुमत गुमाएकै कारण सरकारले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेको दाबी गरे ।







