पूर्वराजा ज्ञानेन्द्रले सम्झिए पृथ्वीनारायण : पराया इच्छा पूरा गर्ने अवान्छित क्रियाकलाप भित्र्याइएको दाबी
२२९ औं पृथ्वी जयन्तीको पूर्वसन्ध्या पूर्वराजा ज्ञानेन्द्रले शुभकामना सन्देश जारी गरेका छन् । उनले पृथ्वीनारायणको औचित्य हिजो, आज र भविष्यमा पनि रहने बताएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अखण्डताका निम्ति एकताको गाँठो बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।
उनले राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्ने क्रममा देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरुले सक्रिय भूमिका मात्र निर्वाह नगरी संवैधानिक राजतन्त्रको मर्यादाअनुरुप व्यवहार भएकोसमेत प्रस्ट पारेका छन् ।
पूर्वराजा शाहले शाहवंशीय राजाहरुले राजगद्दी त्याग्नेसम्मको उच्च साहस र इमानदारी दर्शाएको स्मरण गर्दै आफूहरुका निम्ति देश र जनहित नै सर्वोपरि रहँदै आएको बताएका छन् ।
शुभकामना सन्देशमा शाहले भनेका छन्, ‘हाम्रो विचारमा राजनीति भन्नु नै देशको सेवाको उच्चतम साधन हो । तर, हामीले बेहोरेको राजनीति कति इमानदार र राष्ट्र केन्द्रित छ, कति जनहित अनुकूल छ, त्यसको समीक्षा हुन अब बिलम्व भइसकेको छ ।’
उनले परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै पराया इच्छा पूरा गर्ने अवान्छित क्रियाकलाप भित्रिएको महसुस नेपालीले गरिरहेको बताएका छन् ।
पूर्वराजा शाहले बडामहाराजधिराज पृथ्वीनारायण शाहको परिकल्पनामा सीमित देशलाई आकारमा ल्याउन सानो चातुर्य, साहस र वीरताबाट सम्भव नभएको दाबी गर्दै अहिले त्यही देश कसरी जोगाउने भन्ने चिन्ताग्रस्त अवस्थामा आइपुगिएको दाबी गरेका छन् ।
उनले पृथ्वीनारायण शाहको २२९ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस अवसरमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा प्रेम, सद्भाव र एकताका निम्ति शुभकामना व्यक्त गरेका छन् ।







