धनगढीमा कुर्लिए ओली : प्रचण्ड–नेता नेपाललाई भगौडाको बिल्ला
प्रधानमन्त्री केपी ओलीले पार्टी छाडेर हिँडेका पुष्पकमल दाहाल र माधव नेपाललाई भगौडाको संज्ञा दिएका छन् । पार्टीबाट भागेकाहरूको कुरा नसुन्न पनि उनले आग्रह गरे ।
शुक्रबार धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘तपाईंहरूले पार्टी छाडेर हिँडेका, गाली गर्दै हिँडेका केही भगौडाको कुरा सुन्नुभएको होला । त्यो कुरासँग प्रभावित हुनुपर्ने कुनै कारण छैन’, उनले भने, ‘केन्द्रीय कमिटीको बैठकमा नआएर अन्यत्र भागेर हामी यहाँ छौं भन्दै हिँड्नेको कुरा सुन्नुपर्दैन ।’
प्रचण्ड–नेपाल समूहले बाटो छेकेर ‘हामी यहाँ छौं’ भन्नेबाहेक अरु केही गर्न नसक्ने प्रधानमन्त्री ओलीको दाबी छ ।
‘पार्टी केन्द्रीय कमिटीको बैठकमा नजाने, सडकमा गएर गाली गलौज गरेर, मुख छाडेर पत्र पत्रिकामा लेखाएर केही हुनेवाला छैन ।’ प्रचण्ड–नेपाल समूह गालीगलौजमा उत्रिएको भन्दै प्रधानमन्त्री ओलीले आफूलाई दन्त बझान गर्न आवश्यक नरहेको बताए ।
‘हामीलाई गालीगलौज गर्ने फुर्सद छैन । देश बनाउन हिँडेका हौं। उहाँहरूसँग दन्तबझान गर्ने फुर्सद छैन,’ उनले भने ।







