प्रधानमन्त्री ओलीको प्रचण्ड र नेता नेपालप्रति कटाक्ष : सुन्तला खोज्न सालघारी जाने ?
प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई भेट्नु कुहिएर झरेका फलको उपमा दिएका छन् ।
काठमाडौं शुक्रबार जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले एकताको तीन वर्षसम्म पार्टीलाई घुमाएर प्रचण्ड र नेता नेपालले अस्थिर बनाएको आरोप लगाए । । उनले भने, समस्या कहाँ रहेछ ? खिया कहाँ लागेको रहेछ ? दुइटा नटबोल्ट फेर्दा गाडी अगाडि ।’
प्रधानमन्त्री ओलीले वास्तविक नेकपा आफूहरूको भएको दाबी गर्दै सुन्तला खान खोज्नेहरू सुन्तलाघारी नगएर सल्लाघारी पुगेको दाबी गरे । उनले सुन्तलाघारी वास्तविक नेकपा (ओली समूह) को भएकाले सल्लाघार (प्रचण्ड–नेपाल समूह) मा जानेहरू पछुताउनुपर्ने बताए ।
प्रधानमन्त्रीसमेत रहेका ओलीले नेपका नेपाल–प्रचण्ड समूहले असली हामी हौं भनेर निवेदन हालेको भनेर निर्वाचन आयोगबाट शुक्रबार पत्र प्राप्त भएको बताए ।
ओलीले भने, ‘असली र नक्कली भन्न यो बरमझियाको बुढाको पेडा पसल हो ? जसको घर हो, ऊ मेरो घर हो भनेर निवेदन हाल्न जाँदैन । हामीले बनाएको हो पार्टी, हामी निवेदन हाल्न जान जरुरी छैन । भेट्नु कुहिएर झरेका दुइटा फलले रुख मै हुँ भनेर दाबी गर्ने ?’
आफूहरू आधिकारिक भएको दाबी गर्दै उनले अहिले पनि प्रचण्डलाई अध्यक्ष, माधवकुमार नेपाल र झलनाथ खनाललाई वरिष्ठ नेतामा राखेको बताए ।
ओलीले प्रचण्ड–माधव समूहले घोषणा गरेको आन्दोलनप्रति समेत व्यंग्य गरे । अलिअलि मान्छे त सिसीमा औषधी बेच्नेले पनि रत्नपार्कमा जम्मा गर्छन् । उनले भने, ‘उहाँहरूको हालत त्योभन्दा बढ्ता हुने वाला छैन किनकि एजेन्डा जनता होइन, संविधानको रक्षा होइन, सत्ता मात्र हो ।’
ओलीले सूर्य चिह्न र नेकपा आफ्नै नेतृत्वमा रहने बताए । उनले प्रचण्ड–नेपाल पक्षको ध्यान बैंक खातामा राखेको पैसा र पार्टी कार्यालय तथा जमिनमा रहेको आरोप लगाए ।
ओलीले नेपाल र झलनाथ खनाललाई वरिष्ठ नेताबाट आफूले नहटाएको पनि बताए ।







