नेकपा प्रदेश सरकार, ओली र दाहाल–नेपाल समूहबीच मन्त्री फालाफाल
प्रधानमन्त्री केपी ओली समूहको नेकपा र माधव नेपाल–पुष्पकमल दाहाल समूहको नेकपाबीच प्रदेश सरकारमा रहेका मन्त्री फालाफाल सुरु भएको छ । केन्द्रमा प्रचण्ड–नेता नेपाल समर्थक मन्त्रीले राजीनामा दिएपछि प्रधानमन्त्री ओलीको त्यसको सट्टा केही थान नयाँ मन्त्री भर्ती गरिसकेका छन् ।
नेकपाभित्रका दुई समूहबीचको झगडाकै कारण प्रदेश १ का आर्थिक मन्त्री बर्खास्तगीमा परिसकेका छन् । प्रदेश १ मा ओली समूहका मुख्यमन्त्री शेरधन राई छन् ।
मंगलबार मात्रै सुदूरपश्चिम प्रदेशका नेपाल–प्रचण्ड समूह निकट मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेका छन् । बोहरा ओली समूहकै भएका कारण मन्त्रीबाट गलहत्याइएका हुन् ।
ओली पक्ष पनि के कम । मंगलबार मात्रै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा संसदीय दलका उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदबाट हटाएका छन् ।
प्रदेश सरकाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन भूमिका खेलेको भन्दै मुख्यमन्त्री पौडेलले उनीहरुलाई हटाएका हुन् । यी दुवै नेपाल–प्रचण्ड समूहका हुन् ।
बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल नेकपा ओली समूहका हुन् । पौडेलविरुद्ध केही दिनअघि अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।







