मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका मतदाता नामावाली अद्यावधिक गर्न सुरु गरेको छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुुसार निर्वाचनका लागि सुरुका चरणमा गर्नुपर्ने कामको तयारी प्रारम्भ भएको र मतदाता नामावली अद्यावधिक गर्न थालिएको छ ।
सरकारले प्रतिनिधि सभाको निर्वाचन दुुई चरणमा आगामी वैशाख १७ र २७ गर्ने गरी मिति तोकिसकेको छ । यद्यपि, उक्त निर्वाचनका विषयमा दलबीच उत्पन्न भएको विवाद निरुपणका लागि सर्वाेच्च अदालतमा विषय प्रवेश गरेको छ ।
आयोगले ऐनमा व्यवस्था भएअनुुसार निर्वाचन घोषणा भएलगत्तै ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट गरिरहेको मतदाता नामावली संकलन स्थगित गरेको छ ।
निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सबभन्दा पहिले आयोगले निर्वाचन कार्यक्रम कार्यतालिका बनाउनुपर्ने हुन्छ ।
निर्वाचनसम्बन्धी ऐन कानुनले व्यवस्था गरेअनुरूप त्यस्तो काम विधि र प्रक्रियाले तोकिएको मितिभन्दा अगाडि पनि गर्न सकिँदैन, पछि सार्न पनि मिल्दैन ।
तोकिएको मितिमा ठीक–ठीक तरिकाबाट कार्यसम्पन्न गर्ने सिलसिलामा हाल कार्यतालिका निर्धारणका लागि मस्यौदा तयार गरिसकेको छ ।
उक्त मस्यौदालाई निकट भविष्यमै अन्तिम रूप दिएर निर्णयका लागि पेस हुने क्रममा रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
आयोगले निर्वाचनका लागि आवश्यक पर्ने बजेट अनुमानको काम गरिरहेको छ ।
उक्त निर्वाचनका लागि के–कस्ता क्रियाकलाप गर्नुपर्छ, त्यसका लागि कति जनशक्ति के–कति समय परिचालन हुुन्छ र त्यसमा के–कस्ता अन्य स्रोत सामग्री आवश्यक पर्छ भन्ने आधारमा बजेटको निक्र्योल गर्नुपर्ने भएकाले आयोगले बजेट अनुमान गर्ने काम भइरहेको बताइएको छ ।
‘विगतका निर्वाचनकै विधि प्रक्रिया र क्रियाकलाप गरिने भए पनि कति मात्रामा जनशक्ति परिचालन गर्छौं, कति समयमा त्यो क्रियाकलाप सञ्चालन हुन्छन्, के–कस्ता सामग्री प्रयोग गर्छौं भन्नेसँग बजेट निर्धारण हुन्छ’, उनले भने ।
यद्यपि, अघिल्लो आमनिर्वाचनमा सात अर्ब रुपैयाँ हाराहारी खर्च भएकाले यस पटक पनि सोही वरपरकै खर्च हुने अनुमान छ ।
अहिलेको निर्वाचन कोरोनाका कारण स्वास्थ्यका दृष्टिकोणले व्यवस्थापन गर्नुपर्ने भएकाले केही खर्च थप लाग्ने अनुमान गरिएको छ ।
बजेट तर्जुमाको काम भइसकेपछि आयोगले स्वीकृत गरी अर्थ मन्त्रालयसँग अनुरोध गर्नेछ ।
निर्वाचनका लागि प्रयोग हुुने मतपेटिकालगायत अत्यावश्यक सामग्री जिल्ला निर्वाचन कार्यालयमा के, कति र कस्तो अवस्थामा मौज्दात छ, नपुग हुुने सामग्री कति हो भन्ने विवरण आयोगले लिइरहेको छ ।
त्यससम्बन्धी विवरण प्राप्त भइसकेपछि आवश्यक थप सामग्री व्यवस्थापन गरिनेछ ।
सवारी साधन, मेसिनरी औजारको संख्या र अवस्थाबारे आयोगले जिल्ला–जिल्लाबाट विवरण लिइरहेको छ ।
त्यस्ता सामग्रीको मर्मत सम्भार गर्न लाग्ने खर्च तथा कम्प्युटर, फोटोकपी, फ्याक्सलगायत सामग्रीको अवस्थाको विवरण पनि तत्तत् कार्यालयबाट मागिरहेको छ ।
निर्वाचनका सन्दर्भमा प्रयोग हुने निर्देशिका, कार्यविधिलाई विद्यमान, ऐन कानुनका आधारमै निर्वाचन हुने भए पनि आयोगले आचारसंहितालगायत विषयलाई अद्यावधिक गर्नुपर्नेछ । सो कार्य सुरु भएको छ ।
निर्वाचन कार्यतालिका आयोगबाट स्वीकृत भएपछि निर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ता गर्न सूचना प्रकाशित गर्ने, दलसँग अरू कार्यमा सरसल्लाह गर्ने, मनोनयपत्र दर्ता गर्नेदेखि निर्वाचन चिह्न प्रदान र मतदान गर्नेसम्मका कार्य हुनेछन् ।
त्यसका लागि आवश्यकता र प्राथमिकता निर्धारण गरी आयोगले योजनाबद्ध र व्यवस्थित रूपमा गर्नेछ । निर्वाचन आयोगमा हाल १ सय ३० भन्दा राजनीतिक दल दर्ता छन् । मतदातको संख्या भने एक करोड ५४ लाख हाराहारी छ ।
निर्वाचनलाई व्यवस्थित र मर्यादित तुल्याउन के, कस्ता विषयमा विशेष ध्यान पु¥याउनुपर्छ भनी प्रमुख निर्वाचन आयुुक्त दिनेशकुुमार थपलियाले विगतका निर्वाचनमा आयोगमा रही अनुुभव हासिल गरेका सूचना प्रविधि मन्त्रालय र सरकारी सञ्चार माध्यमका प्रदाधिकारीसँग राय, सुझाव र सल्लाह लिएका छन् ।







