प्रधानमन्त्री ओलीले भने– ‘पार्टीभित्रैकाहरूले हिँड्न खोजे खुट्टा तान्ने र काम गर्न खोज्दा धराप थापेपछि संसद् विघटन’
नेकपाका १ का अध्यक्ष प्रधानमन्त्री केपी ओलीले पार्टीभित्रकै समूहको खुट्टा तान्ने प्रवृत्तिले देशलाई अगाडि बढाउन बाधा पुगेपछि संसद् विघटन गर्नु परेको प्रस्टीकरण दिएका छन् ।
बिहीबार बालुवाटारमा आयोजित आफ्नो समूहको केन्द्रीय कमिटीको भेलालाई सम्बोधन गर्दै ओलीले पार्टीभित्रको झमेलाका कारण देश हाँक्न बाधा भएकाले संसद् विघटन गर्नु परेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘किन संसद् विघटन गर्नुप¥यो, अरु थुप्रै कुरा छाडिदिनुस् । सधैँ किचकिच, यहीं झमेला, पार्टीभित्र हिँड्न खोज्यो खुट्टा समाउने, अल्झाउने, धराप थाप्ने, देश हाँक्नुपर्ने बेलामा सरकारलाई पनि अगाडि बढ्न नदिने ।’
ओलीले संसद् विघटनपछि जनतामा जान डर मान्नेहरूले पार्टी फुटाएको आरोप लगाए । सरकारले नयाँ जनादेशका लागि जनतामा जाने घोषणा गर्दा डर मान्नेहरूले आन्दोलनको घोषणा गरेको उनको दाबी छ ।
प्रधानमन्त्री ओलीले भने, ‘आन्दोलन केका लागि, प्रधानमन्त्रीले नयाँ जनादेशका लागि जनतामा जाने भनेर घोषणा ग¥यो, अब जनतामा जान उहाँहरूलाई यत्रो डर किन ? तपाईं÷हामी बुझ्न सक्छौं, उहाँहरूको टाउको ठूलो छ तर खुट्टा सानो छ ।’
देशलाई बिगार्ने, देशको एकता तोड्ने र अग्रगमनको बाटोमा जान रोक्नेहरूलाई जनताले मत नदिने ओली दाबी छ ।
‘देश बिगार्ने, देशको एकता तोड्ने, देशलाई अग्रगमनको बाटोमा जानलाई व्यवधान खडा गर्नेहरूलाई जनताले मत दिन्छन् ?’ उनले भने ‘चुनाव भन्नेबित्तिकै उहाँहरू निन्द्रामा पनि झस्किनुहुन्छ ।’
गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापाले पार्टीलाई जोगाउन पटक–पटक अनुनयविनय गर्दासमेत नसकिएको बताए । अन्तिम समयसम्म प्रयास गर्दासमेत नसकेपछि अहिलेको अवस्था आएको उनको दाबी छ ।
उनले भने, ‘पार्टीलाई विभाजन गर्ने, सरकारको नेतृत्वलाई अपदस्त गर्ने कुरा फुटवाद हो । हामीले अन्तिमसम्म पनि अनुनयविनय गरेको हो तर उहाँहरूले त्यो कुरा मान्नु भएन । उहाँहरूले पार्टीलाई फुटाई छाड्ने कसम खानुभएको थियो । उहाँहरूले यो सरकारलाई अपदस्त गर्ने सपथ ग्रहण गर्नुभएको थियो । उहाँहरूले अन्ततः त्यही गर्नुभयो ।’
गृहमन्त्री थापाले चुनाव घोषणा गर्नु प्रतिगमन नभएर अग्रगमन भएको बताए । उनले चुनावमा जान डराएकाहरूले बखेडा झिकेर प्रतिगमनको नाटक गरेको दाबी गरे ।







