प्रधानमन्त्री ओली शीतलनिवासमा
प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शनिबार बेलुकी शीतलनिवास पुगेका छन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा ल्याप्चे लगाएर विवादमा तानिएकी राष्ट्रपति भण्डारीसँग सोही अध्यादेश फिर्ताका लागि प्रधानमन्त्री ओलीले भेटेका हुन् ।
स्रोतका अनुसार पछिल्लो राजनीतिक घटनाक्रम, अध्यादेश विवादलगायत विषयमा जानकारी गराउने उद्देश्यले प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेका हुन् ।
यसअघि शनिबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न उनी खुमलटार पुगेका थिए । त्यहाँ उपाध्यक्ष वामदेव गौतम पनि उपस्थित थिए । प्रचण्डलाई भेटेर बाहिरिएलगत्तै उनी मन्त्रीहरूलाई भेट्न मन्त्री निवास पुल्चोक पुगेका थिए ।
सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता नलिएको भन्दै प्रधानमन्त्रीको आलोचना हुँदै आएको छ ।
यसअघि प्रधानमन्त्रीले राष्ट्रपतिसँग परामर्श गरेर मात्र अध्यादेश फिर्ता लिने बताएका थिए ।







