सभापति देउवासँग उद्योग, व्यवसायीको भेट
कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले बुधबार भेट गरेका छन् । महासंघ अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन सम्मिलित प्रतिनिधिमण्डलले देउवासँग भेट गरेको हो ।
भेटमा नयाँ नेतृत्वले कोभिड–१९ संकटको अवस्थामा मुलुकको अर्थतन्त्रलाई सकुशल माथि उठाउन निजी क्षेत्रको सुझावसहितको भिजन पेपर तयारी गरिरहेको जानकारी गराएको थियो ।
महासंघ अध्यक्ष गोल्छाले सरोकारवाला निकाय एवं विज्ञहरूको समेत व्यापक सल्लाह, परामर्शमा रिसर्च र तथ्यमा आधारित भिजन पेपर तयार गरी सरकार तथा राजनीतिक दलहरूमा पेस गर्ने कार्यक्रम रहेको जानकारी देउवालाई दिएका थिए । उनले निजी क्षेत्रले सरकार तथा राजनीतिक दलहरूबाट मुलुकको आर्थिक पुनरुत्थानका लागि उत्तिकै सहयोगको अपेक्षा गरेकोसमेत बताए ।
सो अवसरमा सभापति देउवाले महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाइ दिँदै उद्योग व्यवसायको विकास विस्तारमा सक्रियतापूर्वक लाग्न नयाँ समूह सफल हुने विश्वास व्यक्त गरे ।
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि भेट गरेको छ । सो अवसरमा नेता नेपालले आफ्ना तर्फबाट सक्दो सहयोग गर्ने र आउँदा दिनमा पनि निरन्तर संवाद र सहकार्यमा रहने विश्वास दिलाएका थिए ।







