प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद् बैठक
प्रधानमन्त्री केपी ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । २८ मंसिर बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी सो बैठक डाकिएको हो ।
बैठकमा संवैधानिक निकायहरूमा रिक्त रहेका पदाधिकारी नियुक्तिको एजेन्डामाथि छलफल हुनेछ । प्रधानमन्त्रीले संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिका सम्बन्धमा छलफल गर्न बैठक बोलाएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोगमा प्रमुख आयुक्त र अन्य आयुक्तका पद रिक्त छन् भने लोकसेवा आयोग, वित्त आयोगलगायतका संवैधानिक निकायमा लामो समयदेखि पदाधिकारी नियुक्त हुन सकेका छैनन् ।
ती पदमा कसलाई नियुक्ति गर्ने भन्नेबारे सत्तारुढ र प्रमुख प्रतिपक्षी कांग्रेससँग सहमति जुटिनसकेको, पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच समझदारी नबनेका बेला प्रधानमन्त्री ओलीले परिषद् बैठक डाकेका छन् ।
अहिले विभिन्न संवैधानिक निकायहरूमा प्रमुख तथा सदस्य गरी ४५ पद रिक्त छन् ।
राष्ट्रिय मानव अधिकार आयोगमा अध्यक्ष र ४ आयुक्त, अख्तियारमा प्रमुख र २ आयुक्त, निर्वाचन आयोगमा २ आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ४ आयुक्तको पद रिक्त छ ।
यस्तै, राष्ट्रिय महिला आयोगमा अध्यक्ष र चार आयुक्त, राष्ट्रिय दलित आयोगमा अध्यक्ष र चार आयुक्त, समावेशी आयोगमा अध्यक्ष र तीन आयुक्त, आदिवासी तथा जनजाति आयोगमा अध्यक्ष र चार आयुक्तको पद रिक्त छ ।
यसैगरी मधेसी आयोगमा चार आयुक्त, थारु आयोगमा चार आयुक्त, मुस्लिम आयोगमा चार आयुक्त नियुक्त गर्नुपर्नेछ ।







