क्रियाशील सदस्यताको काम सकाउनेमा पहिलो भयो अर्घाखाँची कांग्रेस
नेपाली कांग्रेस अर्घाखाँचीले बुधबार लक्रयाशील सदस्यताको सूची केन्द्रीय कार्यालयमा बुझाएको छ । कोरोना महामारीबीच क्रियाशील सदस्यता वितरण र नवीकरणका काम अर्घाखाँची जिल्ला कार्यसमितिले टुंग्याएको हो ।
‘सचिव विष्णुप्रसाद भुसालले बुधबार केन्द्रीय कार्यालयमा क्रियाशील सदस्यको विवरण बुझाए,’ सभापति विष्णुप्रसाद खनालले भने ।
पार्टी केन्द्रीय कार्यालयको निर्देशनअनुसार क्रियाशीलको विवरण बुझाउने अर्घाखाँची कांग्रेस पहिलो हो । अरू ७३ जिल्लामा क्रियाशीलको काम भइरहेको छ ।
सभापति खनालले कोरोनाको निहुँ देखाएर क्रियाशीलको काम रोक्न नहुनेमा जोड दिए । ‘६१ वडा रहेको अर्घाखाँचीमा विवादबिनै क्रियाशील सदस्यता टुंग्याएका हौं,’ उनले भने, ‘मातहत समितिलाई विश्वास गर्ने हो भने फटाफट काम गर्न सकिन्छ ।’
उनले अर्घाखाँचीबाट ११ हजार ८ सय ७० जना क्रियाशीलको नाम केन्द्रीय कार्यालयमा बुझाइएको जानकारी दिए ।
यस्तो संख्या ०७२ मा भएको कांग्रेसको १३ औं महाधिवेशनमा जम्मा ६ हजार मात्रै थियो । अर्घाखाँचीमा जस्तै क्रियाशीलको काम समयमै अरू जिल्लाले पनि टुंग्याएको भए मंसिरभित्र केन्द्रीय कार्यालयमा विवरण आउने थियो । त्यसले कार्यतालिकाअनुसार महाधिवेशन गर्ने बाटो खोल्थ्यो ।
गत वर्ष नै सकिनुपर्ने समायोजनका काम तीन जिल्लामा अझै बाँकी छ । प्रदेश २ अन्तर्गत बारा र सप्तरी तथा बागमती प्रदेशअन्तर्गत सिन्धुपाल्चोकमा समायोजनको काम सकिएको छैन ।
यी जिल्लामा ०७२ को अधिवेशनबाट निर्वाचित समितिले नै काम गरिरहेको छ । विधानअनुसार यी तीन जिल्ला समितिमा संघीय संरचनाअनुसार संगठन छैन ।
गत २८ कात्तिकको केन्द्रीय कार्यसमिति बैठकले ७७ जिल्लाबाट मंसिर मसान्तभित्र क्रियाशीलको विवरण पठाइसक्न समय तय गरेको थियो ।
तर, समायोजनै नसकिएका तीन जिल्लामा क्रियाशील फारम नै पुगेको छैन । समायोजन नसक्ने जिल्लालाई केन्द्रीय कार्यालयले क्रियाशीलको फारम दिने गरेको छैन ।
राष्ट्रिय सभामा दलका नेतासमेत रहेका सांसद राधेश्याम अधिकारीको नेतृत्वमा निर्वाचन समितिमा पाँच सदस्य छन् । कांग्रेसले १४ औं अधिवेशन ७ देखि १० फागुनसम्म काठमाडौंमा गर्ने कार्यतालिका बनाएको छ । यो कार्यतालिका अब प्रभावित हुने देखिएको छ ।
केन्द्रीय महाधिवेशन गर्नु पहिले वडादेखिका निर्वाचन गर्नुपर्ने हुन्छ । अब फागुनमा महाधिवेशन गर्न त्यसपहिले मातहतका निकायमा अधिवेशन गर्ने समय पर्याप्त नहुने देखिएको हो ।







